राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले शिक्षा क्षेत्रको प्रणाली परिवर्तन गर्नुपर्ने बताएकी छन् । आइतबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै देवकोटाले कोभिडका कारण विद्यार्थीहरुको भविष्य नै ध्वस्त भएको भन्दै शिक्षा क्षेत्रको प्रणाली परिवर्तन गर्नुपर्ने बताएकी हुन् ।
‘कोभिडबाट मुलुक आक्रान्त छ । पहिलो, दोस्रो र तेस्रो लहरको कोभिडको प्रक्ष्यपण गर्दै तोकिएका परीक्षा स्थगित हुन थालेको छ । कुनै पनि मुलुकको विकासको मापन त्यस देशको शिक्षा प्रणालीबाट मात्र हुन सक्छ,’ उनले भनिन्, ‘पठन पाठनको पद्धति कसरी परिवर्तन गर्ने भनेर सरकारले योजना बनाओस् । सामुदायिक विद्यालयहरु ‘भर्चुअल’ पठन-पाठन गराउन सक्ने अवस्थामा छैन ।’
उनले कोभिडका कारण विदेश तथा स्वदेशमै पनि रोजगारी गुमाएकाहरुतर्फ ध्यान दिन सरकारलाई उनले आग्रह गरिन् ।
यस्तै राष्ट्रिय सभा सदस्य बिमला राई पौड्यालले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सरकारमा सामेल दलको गठबन्धनले चलाउन खोजेको भन्दै गम्भीर आपत्ति प्रकट गरेकी छन् । राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री संयन्त्रप्रति होइन संसदीय पद्दतिप्रति जिम्मेवार हुनुपर्ने बताएकी हुन् ।
‘मैले पढेको, बुझेको र हुनुपर्ने कुरा प्रधानमन्त्री संसदीय पद्दतिप्रति जिम्मेवार हुन्छन् । हुन त यो सरकार अप्ठ्यारोमा आएको छ । भन्नलाई त यो कांग्रेसले नेतृत्व गरेको तर, गठबन्धनको सरकार हो । अर्कोतर्फबाट स्वतन्त्र सांसदहरुले भोट दिएर निर्दलीय सरकार पनि हो,’ उनले भनिन्, ‘हल्ला चलिरहेको छ । हल्ला के छ भने गठबन्धनले समानान्तर राजनीतिक संयन्त्र बनाउँदै छ । यसले प्रधानमन्त्रीलाई निर्देश गर्छ । यस्तो अवस्थामा प्रधानमनत्री को प्रति जिम्मेवार हुने ? प्रधानमन्त्री छान्ने संसदले, अनि संयन्त्रले हातखुट बाँध्ने ? संविधानले चिन्छ गठबन्धनलाई ?’
उनले गठबन्धनको संयन्त्र बनाएर हाँस्यास्पद काम किन गरिएको भन्दै प्रश्न पनि गरिन् । सरकार प्रधानमन्त्रीले चलाउनुपर्ने भन्दै संयन्त्रले चलाउन खोजिनु निर्लज्जता भएको उनको भनाइ छ । ‘हाँस्यास्पद, किन गरिँदै छ ? सरकारले चलाउने प्रधानमन्त्रीले हो । संयन्त्रले सरकार चलाउने हैन । प्रधानमन्त्रीको हाटखुट्टा बाँध्नु निर्लज्जता पनि हो’ उनले भनिन्, ‘म प्रधानमन्त्रीलाई भन्छु हातखुट्टा बाँधेर नबस्नुस् । यति कमजोर किन हुनुपर्यो शेरबहादुर देउवा ?’








