तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्षमाथि कार्यालयका लेखापालले मुक्का हानेका छन् । आइतबार अध्यक्ष मानबहादुर लिम्बूमाथि सुजन थापाबाटले मुक्का प्रहार गरेका हुन् ।
गाउँपालिकाबाट भुक्तानी गर्न बाँकी रहेका रकम निकासी गर्न आग्रह गर्दा लेखापाल थापाले अध्यक्षमाथि मुक्का प्रहार गर्दा कार्यलयमै हानाहान परेको एक जना कर्मचारीले बताए ।
‘अध्यक्ष र लेखापाल थापाबीच भनाभन हुँदैगर्दा हात हालाहाल भएको हो । भनाभन गर्दै गर्दा लेखापालको नजिकै पुग्नु भएको बेला अध्यक्षमाथि मुक्का प्रहार भयो । तर अर्का कर्मचारीले छेकेकोले उहाँलाई लागेन।’
कोरोना सक्रमण सँगै स्वास्थ्य समस्यामा रहनु भएको अध्यक्ष लिम्बू लामो समयपछि पछिल्लो समय कार्यालयमा एकसाता अघिबाट मात्रै उपस्थित हुनु भएको बुझिएको छ । गाउँपालिकाले रकम निकासी नगर्दा कोरोना महामारीमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्य कर्मीहरुलाई दिइने जोखिम भत्ता समेत अझै निकासा हुन नसकेको बताइएको छ ।
सबै योजना तथा भत्ता वापतको रकम निकासीका लागि हुनुपर्ने प्रकृया पूरा हुँदा पनि लेखा शाखाबाटै रकम निकासी नहुने गरेको अन्य कर्मचारीहरुको पनि गुनसो छ ।
अर्का एक कर्मचारीले भने, ‘उहाँ सुजन थापा आएपछि गाउँपालिकाका हामी सबै कर्मचारीले समयमा तलव पाएका छैनौँ।’ उहाँले सबै योजनाका लागि गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीयबाट तोक लाग्दा पनि रकम निकासा नगरेको आरोप आरोप लगाउनु भयो ।
उता अध्यक्ष लिम्बूले भने रकम निकासी किन रोकियो ? छरितो गर्नुहोस भन्दा आफूमाथि हातपात गरेको आरोप लगाउनु भयो । आफूमाथि हातपात भएपछि आफूले पनि आवेगमा आएर हात फर्काको बताउनु भयो ।
लेखापाल थापाले दलाली गर्नका लागि यी सबै हर्कतहरु गरेको अध्यक्ष लिम्बूले आरोप लगाउनु भयो । जनताको निरासा र असन्तुष्टिलाई हल गर्ने प्रयास गर्दा आफूमाथि नै लखेपाल खनिएको उहाँले गुनसो गर्नुभयो ।








