सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशका ३ सांसदलाई थमौती गर्न अस्वीकार गरेको छ । जसपाले पार्टीका ३ सांसदलाई पार्टीको नीति विपरीत लुम्बिनी सरकारलाई समर्थन गरी सरकारमा सहभागी भएको भन्दै कारवाही गरेपछि उनीहरु सर्वोच्च पुगेका थिए ।
जसपाका लुम्बिनी प्रदेश सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गरी हटाएको जानकारी प्रदेश सभा सचिवालयलाई दिएपछि प्रदेश सभाले ती सांसदलाई हटाएको सूचना टाँस गरेको थियो ।
तर, यसअघिको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामै रहेका बेला आफूहरुलाई पुनः कारवाही गरिएको भन्दै उक्त कारवाही यथास्थितिमा राख्न माग गर्दै उनीहरु सर्वोच्च अदालत पुगेका थिए ।
सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाकै इजलासमा परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलका लागि भदौ ८ गतेलाई बोलाएको हो ।
तीन सांसदलाई पदमुक्त गर्नुको कारण पेश गर्न प्रदेश सभा सचिवालय लुम्बिनीलगायत विपक्षीको नाममा कारण देखाऊ आदेशसमेत दिएको छ ।








