ओलिसंग जैगिदै बैठकबाट निस्किएर गौतम



नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टीको केन्द्रीय कमिटी बैठक बहिस्कार गरेका छन् । सोमबार सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई जे पाए त्यही बोल्ने ? पार्टी अध्यक्षले मनलागी बोल्न पाइन्छ भने विधानमै व्यवस्था गर्नुपर्यो । मनलाग्दी बोल्ने जो कोहीलाई अनुशासनको कारबाही हुनुपर्यो,’ भन्दै गौतम जँगिएका थिए ।

गौतमले ओलीमाथि आक्रोश पोखिरहँदा बैठकमा सन्नाटा छाएको थियो । उनले भने,‘नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भएका राजनीतिक मतभिन्नताका सन्दर्भमा अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई अपराधी भन्नुभयो, गद्दार र देशद्रोही भन्नुभयो । अध्यक्षले त्यस्तो भन्न पाइन्छ भने विधानमा व्यवस्था गर्नुपर्यो । बोल्नुहुँदैन भने किन बोल्नुभयो ? मनपरी गर्न पाइँदैन ।’

पार्टीमा अनुशासनहीन र गलत गर्ने जोसुकैमाथि कारबाही हुने समेत चेतावनी दिए । उनले भने, ‘पार्टीमा कसैले गल्ती गर्यो भने राजनीतिक कारबाही हुन्छ ।’ उनले घुमाउरो तरिकाले ओलीमाथि कारबाहीको विषय पनि उठाए ।

ओलीले अध्यक्षका रुपमा मनलाग्दी गरेको समेत आरोप लगाए । उनले ओलीमाथि व्यङ्ग्य गर्दै भने,‘अध्यक्षले मनपरी गरेको विषयलाई यी अध्यक्षका अधिकारहरु भन्ने शिर्षकमा केही अधिकारहरु थप्नुपर्छ । हाम्रो पार्टीका अध्यक्षलाई मनलाग्दी गर्दा पनि आममाफी हुनेछ भन्ने विधानमा किटानसाथ उल्लेख गरिनुपर्छ ।’

गौतमले विधानमै कतिलाई अपराधी, देशद्रोही र गद्दार भन्न सकिने विधानमै उल्लेख गर्नुपर्ने भन्दै व्यङ्ग्य गरेका थिए । आफूविरुद्ध कडा रुपमा बोल्न थालेपछि ओली पनि आक्रोशित भए । त्यसपछि दुवैबीच चर्काचर्की भयो । गौतम बैठकबाट निस्किएर हिंडे । उनी केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने गरी उठेको बुझिएको छ ।

प्रकाशित मिति : श्रावण २५, २०७८ सोमबार  ५ : ०० बजे