कोरोना विरुद्ध देशब्यापी अभियान थाल्न देशभरिका जिल्ला समितीहरुलाई तरुण दलको निर्देशन



नेपाल तरुण दलले कोरोना भाइरसको सम्भावित महामारीबाट बच्नको लागि स्थानीय प्रशासनसंग सहजीकरण गरी सम्भावित महामारीबाट बच्न अभियान चलाउन केन्द्रिय समिती मातहतका सबै जिल्ला समितिहरुलाइ  निर्देशन दिएको छ ।

दलका अध्यक्ष जित जङ्ग बस्नेतले परिपत्र जारी गर्दै सबै जिल्ला समितीहरुलाई निर्देशन दिएका हुन ।तेस्रो भेरियन्ट नेपालमा पनि देखा पर्ने सम्भावना रहेको भन्दै अघिल्ला भेरियन्टमा जस्तो मानवीय लगायत अन्य क्षेत्रमा क्षति हुन नदिनको लागि पुर्व तयारी स्वरुप अभियान थाल्न देशब्यापी अभियान चलाउनुपरेको परिपत्रमा उल्लेख छ ।

तरुण दलको परिपत्र

मिति – २०७८/०४/२७

श्री अध्यक्ष जी,
नेपाल तरुण दल,
सबै जिल्ला समितिहरु ।

विषय : परिपत्र

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाईरसका कारण सिँगो विश्व समुदायले कठिन परिस्थितिको सामाना गरिराख्नु परेको छ । स्वास्थ्य विज्ञहरुको भनाई अनुसार कोभिड–१९ कोरोना भाईरसको तेस्रो भेरियन्ट नेपालमा पनि देखा पर्ने सम्भावना रहेको छ । यस्तो अवस्थामा अधिल्ला भरियन्टमा जस्तो मानवीय लगायत अन्य क्षेत्रमा क्षति हुन नदिनको लागि पुर्व तयारी गर्नु अति आवश्यक छ । त्यसैले सम्भावित महामारीबाट बच्नको लागि स्थानीय प्रशासनसंग सहजीकरण गर्न÷गराउनको लािग जिल्ला अध्यक्ष ज्यूहरुलाई यो परिपत्र गरिन्छ ।

१- कोभिड–१९ कोरोना भाईरसको विरुद्धमा देशभर ७७ वटै जिल्लामा मास्क प्रयोग अभियान चलाउने र कोरोना विरुद्धको खोप लगाउनको लागि सबैलाई प्रोत्साहन सहित जनचेतना फैलाउने ।

२- खोप केन्द्र सम्म पुग्न नसकेका लक्षित वर्गलाई खोप केन्द्र सम्म पुग्न सहयोग गर्ने र खोप केन्द्रलाई व्यवस्थित र सहज बनाउन सम्बन्धित निकाय संग सहजीकरण गर्ने ।

३- स्वास्थ्य उपचारमा रातदिन खटिने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउनको लागि प्रोत्साहन स्वरुप थप सेवा सुविधा प्रबन्ध गर्नका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने । केही स्वास्थ्य संस्थामा लामो समय देखि तोकिएको जोखिम भत्ता स्वास्थ्यकर्मीहरुले नपाएको भन्ने सुन्नमा आएकोले त्यसका लागि सम्बन्धित निकाय संग पहल गर्ने ।

४- बाहिरी मुलुकबाट आएका व्यक्तिहरु क्वारेन्टाईन सम्म पुग्न नसकेका र नपुगेका भए प्रशासन संग सहयोग लिई पुग्ने सक्ने वातावरणको सिर्जना गर्ने ।

५- खाद्यान्न, तरकारी, दुध, औषधी, पानी लगाएत दैनिक उपभोग्य सामानको खरिद गर्दा भिडभाड हुने भएकाले सजकता र एक अर्का बीच दुरी कायम गर्न सचेतना फैलाउने।

६- अति आवश्यक कार्य बाहेक अन्य कार्यमा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरनै बसी केही समयलाई सामाजिक दुरी कायम गरिदिनुहुन अनुरोध गर्ने ।

७- सामाजिक संजाल, अनलाईन समाचार लगाएत अन्य समाचारका माध्यमबाट अपवाह फैलिने खालका समाचार भन्दा सचेत र सुरक्षित हुने खालका समाचार सम्प्रेषण गरिदिनुहुन सम्पूर्ण संचार माध्यमहरु संग अनुरोध गर्ने । अपवाह फैलाईएको देखिए नियन्त्रण र कारवाहीको लागि प्रशासनलाई जानकारी गराउने ।

८- मास्क, औषधी, सेनिटाईजर, खाद्यान्न ग्यास लगाएत अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव र कालोबजारी देखिन सक्ने हुनाले यसरी कृत्रिम अभाव र कालोबजारी हुन नदिनका लागि प्रशासनलाई नियमित अनुगमनका लागि आग्रह गर्ने र कालोबजारी भएको देखिएमा नियन्त्रण र कारवाहीको लागि प्रशासनलाई सहयोग गर्ने ।

९- सकेसम्म लामो दुरीका सवारी साधनलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि यातायात व्यवसायी र प्रशासनलाई सहयोग गर्ने ।

१०- अन्त्यमा सम्पूर्ण निकायलाई आफु र आफु वरिपरिको वातावरणको सरसफाईमा ध्यान दिनुका साथै आफु सचेत भई अरुलाई पनि सचेत गराउँदै त्रसित नभई सजग रहनका लागि नेपाल तरुण दल केन्द्रिय समिति हार्दिक अनुरोध गर्दछ ।
जय नेपाल ।

जित जङ्ग बस्नेत
अध्यक्ष

प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार  १० : २९ बजे