ओलीले आफूमाथि केहि नर्ग नसक्दा ‘फेक’ मुद्दामा ताने : उपसभापति गच्छदार



नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललितानिवास जग्गा प्रकरणमा आफूलाई फसाउनका लागि तानिएको बताएका छन् । बुधबार एक कार्यक्रममा उनले अघिल्लो सरकारले आफूमाथि केहि नर्ग नसक्दा ‘फेक’ मुद्दामा तानिएको जिकिर गरेका हुन् ।

“नेपाली कांग्रेस ठूलो पार्टी बन्दै छ अब, विजय गच्छदारलाई हराउन नसकिने भयो, अन्य ढंगले पनि तह लगाउन नसकिने भयो भनेपछि ललितानिवास प्रकरणमा तान्ने प्रयास भएको छ,” गच्छदारले भने, “भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले जग्गाको नामसारी गर्छ ?”

उनले केपी शर्मा ओलीको सरकारले सुन्दा पनि अनौठो लाग्ने र दुनियाँले नपत्याउने कुरामा आफूरुमाथि मुद्दा लगाएर बदनामसँगै राजनीति समाप्त पार्ने प्रयास गरेको बताए ।

“प्रधानमन्त्री निवास, सभामुख र राष्ट्रियसभा अध्यक्ष निवास र प्रधानन्यायाधीश निवास पनि त्यहीँ छ, राष्ट्र बैंकको प्रमुख खजाना पनि त्यहीँ छ,” गच्छदारले ललिता निवास प्रकरणमा थप भने, “त्यो हाम्रा संस्थापक नेता पूर्वसभापति सुवर्णशमशेरज्यूको दरबार हो । २०१८ सालमा महेन्द्रले त्यो खोसेका हुन् । २१/२२ सालमा मोहियानी हक लागेको हो । त्यहीँ बस्ने प्रधानमन्त्रीहरुलाई पनि थाहा छैन ललितानिवास प्रकरणमा के भयो भनेर ।”

उनले कतिपय ललितानिवास प्रकरणमा प्रत्यक्ष जोडिएकाहरुलाई संरक्षण दिएर ओली सरकारले प्रतिशोध साध्नका लागि मात्र ललितानिवास प्रकरण चर्चामा ल्याएको बताए । ललितानिवास प्रकरणमा पक्राउ सूचीमा परेका गच्छदार गएको असार ३० गते अदालत पुगेर १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार  १ : ०१ बजे