राष्ट्रपति भण्डारीले यसरी गरिन प्रधानमन्त्री देउवाको प्रशंसा, सबैलाई गरिन यस्तो आह्वान



राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएकी छन् । शुक्रबार आयोजित एक कार्यक्रममा राष्टपति भण्डारीले दिगो विकासका लक्ष्य हाँसिल गर्नका लागि स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएकी हुन् ।

राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको कार्यक्रममा भण्डारीले युवा शक्ति देशको शक्ति भएको भन्दै राष्ट्रनिर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने बताइन् । राष्ट्रपति भण्डारीले युवा जनशक्ति बेरोजगार हुँदा मुलुकको समग्र आर्थिक र सामाजिक प्रणाली नै अवरुद्ध हुने बताइन् ।

युवा विदेश पलायन हुँदा दिगो अर्थतन्त्रको विकासका लागि समेत प्रतिकूलता सिर्जना हुने उनको भनाइ छ । ‘रोजगारीका लागि युवा बिदेसिदा सामाजिक सांस्कृतिक मूल्य मान्यतामा बिचलन आएको छ । यसले पारिवारिक सुख, शान्तिमा पनि खलल पुगेको छ,’ उनले भनिन् । सीपको अभावमा वैदेशिक रोजगारीमा जाँदा न्यून आम्दानी हुनुका साथै स्वास्थ्य सुरक्षा र नोकरी पनि असुरक्षित हुने भएकाले त्यसतर्फ ध्यान दिन सुझाइन् ।

युवालाई कृषि क्रान्तिमा सामेल गराउनुपर्ने उल्लेख गर्दै सीपयुक्त गुणस्तरीय शिक्षाद्वारा नवप्रवर्तनमा सहभागी गराउनुपर्ने आवश्यकता औंल्याइन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको दिशानिर्देशमा युवाको भूमिका महत्वपूर्ण रहेको बताए ।

प्रधानमन्त्री देउवाले युवाको नयाँ सोच, जाँगर र मेहनतलाई सरकारले सदैव उच्च प्राथमिकतामा राखेको बताए । ‘समुन्नत मुलुक बनाउने सरकारको योजनामा आ–आफ्नो ठाउँबाट हातेमालो गर्न सबैलाई आह्वान गर्छु,’ उनले भने ।

प्रधानमन्त्री देउवाले युवामा रहेको क्षमता उजागर गर्ने मौका प्रदान गर्दै दिगो विकास लक्ष्यको सार्थक साझेदारका रूपमा युवा सहभागितालाई अगाडि बढाउने बताए । युवा तथा खेलकुद मन्त्रालयका सचिव कमलप्रसाद पोखरेलले युवाको क्षमता विकासका लागि सरकारले विभिन्न कार्यक्रम ल्याए पनि कार्यान्वयनमा समस्या देखिएको बताए । उनले युवाको क्षमतालाई सीपअनुसार उद्यमशीलतासँग जोड्नुपर्ने बताए ।

प्रकाशित मिति : श्रावण २९, २०७८ शुक्रबार  १२ : ०८ बजे