माओवादीको विधान : कोषाध्यक्ष थपिने, उपमहासचिव हट्ने



नेकपा माओवादी केन्द्रले उपमहासचिव पद खारेज गर्ने प्रस्ताव गरेको छ । शनिबारको बैठकमा प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावमा उपमहासचिव पनि रहने प्रावधान राखेपनि कोषाध्यक्ष पद थपिने भएपछि उक्त पद खारेज गरेको हो ।

माओवादीका केन्द्रीय पदाधिकारीहरूमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहनेछन् । प्रदेश र तल्ला कमिटीहरूमा भने अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष रहने भएको छ ।

आइतबार बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा माओवादी नेता देव गुरुङले भने,‘उपमहासचिव पद हट्छ, कोषाध्यक्ष पद थप गरिनेछ ।’ आइतबार दिउँसो केन्द्रीय कमिटीको बैठक एक घण्टा रोकेर बसेको स्थायी कमिटी बैठकले उपमहासचिव हटाएर कोषाध्यक्ष राख्ने निर्णय गरेको गुरुङले बैठकलाई जानकारी दिए ।

नेकपाकै पालाको विधानमा टेकेर कार्यदलले विधानको मस्यौदा बनाएको हुनाले उपमहासचिव लगायतका पद रहन गएको बताउँदै गुरुङले त्यसलाई सच्याउने बताए ।

बैठकमा केन्द्रीय सदस्यहरुले दिएका सुझावहरूका सन्दर्भमा दीर्घकालीन महत्वका सुझावहरूलाई पछि सम्वोधन गर्दै जाने र तत्कालै गर्न सकिने कामहरु तत्काल सुधार गरिने उनले बताए ।

बैठकमा बोल्दै गुरुङले स्थानीय एवं महानगर तहको संगठनात्मक संरचना साउन १८ को सुर्कलर अनुसार हुने र जिल्ला र प्रदेशको संरचना गत बैशाखको सर्कुलरअनुसार हुने गरी विधानमा मिलाइने बताए ।

प्रकाशित मिति : श्रावण ३१, २०७८ आइतबार  ४ : ०९ बजे