ओली कलियुगको धुन्धुकारी हुन्, गोकर्णको रुपमा देउवा आए : सांसद शाही



सांसद रङ्गमती शाहीले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘धुन्धुकारी’ संज्ञा दिएकी छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा उनले पूर्व प्रधानमन्त्री ओली कलियुगको धुन्धुकारी भएको टिप्पणी गरिन् ।

‘दुई तिहाई पाएका पूर्व प्रधानमन्त्री कलियुगको धुन्धुकारी नै हुनुभयो । जसले आफ्नो पार्टी र संसद दुवैतिर धुन्धुकारीको भूमिका निर्वाह गर्नुभयो,’ उनले भनिन्, ‘अब गोकर्णको रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको अवतरण भएको छ ।’

उनले ओली सरकारले विभिन्न भ्रष्टाचारको आफै अख्तियारको प्रमुख भएर जवाफ दिएको भन्दै, ‘यो सरकारले नयाँ नक्सा छापिएको पुस्तकको वितरण रोक्दैन, सांसदलाई सिंहदरबार र पार्टी कार्यालय कुन हो भन्ने छुट्याउन नसक्नेगरी बालुवाटारबाट शासन गर्दैन, ललिता निवास, यति, ओम्नी र ७० करोड भिडियो प्रकरण, वाइडबडीमा भएको भ्रष्टाचारको आफै अख्तियारको प्रमुख भएर जवाफ दिँदैन ।’

उनले अगाडि भनिन्, ‘ढुक्क हुनुस् । आफूलाई निन्द्रा नलागे राष्ट्रपतिज्यूलाई रातभर जाग्राम राख्दैन, सत्ता जोगाउन पशुपतिमा जलहरी चढाउँदैन, सांसदको अपहरण पनि गर्दैन, कात्रोमा पनि कमिशन खाँदैन, खानेलाई पनि बचाउँदैन । सकेसम्म आफ्नो निजी सम्पत्ति सरकारलाई दिने घोषणा गर्दछ ।’

प्रकाशित मिति : श्रावण ३२, २०७८ सोमबार  २ : ४४ बजे