जनता समाजवादी दल (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षबाट डा. उमाशंकर प्रसादलाई राष्ट्रिय योजना आयोगको सदस्य पदमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सदस्य पदमा नियुक्त गरेको हो ।
जेएनयूबाट पीएचडी गरेका रौतहटका अर्थशास्त्री प्रसादले त्रिभुवन विश्वविद्यालयमा अध्यापन पनि गराउँछन् ।
यस्तै केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका राजेश अहिराजलाई सरकारले पदमुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश नम्बर २ का प्रदेश प्रमुख अहिराजलाई पदमुक्त गर्दै महोत्तरीका हरिशंकर मिश्रलाई बनाउने निर्णय गरेको छ।
बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा मिश्रलाई बनाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
गृहमन्त्री बालकृष्ण खाणले आज बसेको मन्त्रिपरिषद बैठकले मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरिएको बताए।
मिश्र नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य र पूर्वसांसद हुन्। उनले २०४८ सालमा महोत्तरीबाट चुनाव जितेका थिए।
प्रदेश प्रमुखमा सिफारिस भएका मिश्र पूर्वमन्त्री रामनारायण मिश्रका छोरा हुन्। रामनारायण बिपी कोइराला नेतृत्वको सरकार हुँदा २०१६ सालमा उद्योग मन्त्री थिए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि यसअगाडि गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख पठाइएको थियो।








