अर्याल होटलमा नेपाल पक्षको भेला, आजै नयाँ दल दर्ता गर्ने



राष्ट्रपती विद्यादेवि भण्डारीले सरकारको सिफारिसमा अध्यादेश बुधबार जारी गरेसँगै एमालेको माधव नेपाल पक्षले नयाँ दल दर्ताको गृहकार्य शुरू गरेको छ ।

पार्टी विभाजनका लागि खुकुलो प्रावधानसहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नेपाल पक्षका नेताहरु आजै निर्वाचन आयोग जाने तयारी गरेका छन् । अहिले दल दर्ताको तयारीका लागि नेपाल पक्षका केन्द्रीय कमिटी सदस्य र सांसदहरू नयाँबानेश्वरस्थित अर्याल होटलमा भेला भएका छन् ।

दल दर्ताका लागि केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले हस्ताक्षर संकलनको काम गरेका छन् । पार्टी विभाजनका लागि नेपाल पक्षका ४ जना स्थायी कमिटी सदस्य मात्र तयार भएका छन् ।

नेता नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने र बेदुराम भुसालले मात्र नयाँ दलको पक्षमा हस्ताक्षर गरेका स्रोतले बतायो ।

यसअघि नेपालको पक्षमा १२ जना स्थायी कमिटी सदस्य थिए । विगतमा नेपालनिकट मानिएका उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र नेता रघु पन्त लगायतले पार्टी विभाजनमा सहयोग नगर्ने बताएका छन् ।

नेपाल पक्षले नयाँ पार्टीमा उपाध्यक्ष वामदेव गौतम पनि आउने दाबी गरेको छ । माधव नेपालले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने तयारी भएको स्रोतको दाबी छ ।

प्रकाशित मिति : भदौ २, २०७८ बुधबार  १ : ५६ बजे