दल दर्ताको प्रक्रिया बुझेर फर्किए राजेन्द्र र झाँक्री



बुधबार राष्ट्रपती विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरे लगत्तै एमाले नेता राजेन्द्र पाण्डे र नेतृ रामकुमारी झाँक्री निर्वाचन आयोग पुगेर फर्किएका छन् ।

माधव नेपाल पक्षको बानेश्वर अर्याल होटलमा छलफल र हस्ताक्षर संकलन चलिरहँदा उक्त पक्षका दुई नेता निर्वाचन आयोग पुगेर फर्किएका हुन् ।

स्रोतका अनुसार पाण्डे र झाँक्री नयाँ दल दर्ताको प्रक्रिया लगायतका कुरा बुझेर फर्किएका हुन् । पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तयारी भएको आयोगमै पुगेका अर्का एक नेताले बताए ।

माधव नेपाल अध्यक्ष रहने र केन्द्रीय कमिटी ९५ सदस्यीय बनाउने तयारी भएको उनले जानकारी दिए । चुनाव चिह्न खुला किताब वा खुला किताबभित्र सूर्य राख्ने विषयमा छलफल भइरहेको छ ।

निर्वाचन आयोगबाट बाहिरिँदै नेता पाण्डेले ‘तयारी नपुगेको’ बताए। उनले निर्वाचन आयोगका सञ्चारकर्मीहरुसँग भने-‘ए बाबा, तयारी पुग्या छैन भनेपछि बुझ्नुस् न !’

 

प्रकाशित मिति : भदौ २, २०७८ बुधबार  ३ : ०२ बजे