सनाखतका लागि भदौ ९ गते आयोगले बोलायो नेपाल र ठाकुर पक्षलाई



निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुरलाई सनाखतका लागि बोलाएको छ ।

नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाललाई सनाखतका लागि भदौ ९ गते बोलाएको हो ।

आयोगका सूचना अधिकारी कोमलप्रसाद धमलाका अनुसार दुवै पार्टीलाई भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेभित्र केन्द्रीय कमिटी सदस्य र सांसदको सनाखतका लागि आयोगमा बोलाइएको हो ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि बुधबार नेकपा एमालेबाट अलग भएको माधव नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दर्ता गराएको छ ।

यस्तै जनता समाजवादी पार्टी, नेपालबाट अलग भएर महन्थ ठाकुर समूहले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल दर्ताका लागि आयोगमा निवेदन दर्ता गराएको छ ।

प्रस्तावित नेकपा एकीकृत समाजवादीमा नेपाल अध्यक्ष र वरिष्ठ नेतामा झलनाथ खनालसहित ११५ जना केन्द्रीय सदस्य छन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीमा ठाकुर अध्यक्ष, राजेन्द्र महतो र शरतसिंह भण्डारी वरिष्ठ नेतासहित ३१ जना कार्यकारिणी सदस्य छन् ।

प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार  ६ : ५५ बजे