लुम्बिनी प्रदेश सभाले प्रदेशसभाकी सांसद विमला वली एमालेमै रहेको पुष्टी गरेको छ । नेकपाको एकता भंग गर्ने सर्वोच्च अदालतको फैसलापछि पनि सांसद वली एमालेमै रहेको प्रदेश सभाले पुष्टि गरेको हो ।
माओवादी केन्द्र रोजेकी विमला वलीलाई लुम्बिनी प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल एमालेले कारबाहीको माग गरिरहेका बेला प्रदेश सभा सचिबालयको कागजात भेटिएको हो ।
०५ चैत ०७७ मा प्रदेश सभा सचिबालयले नेकपा एमालेलाई सांसदको विवरण उपलब्ध गराउन पत्र काटेको थियो । सर्वोच्चको फैसलापछि सचिवालयले माओवादी केन्द्र र एमाले अलग(अलग भएकाले एकीकरण हुनुअघिको साविककै अवस्थामा कायम रहेको व्यहोरा जानकारीमा एमालेबाट संलग्न भएका सांसदहरुको विवरण प्रदेश सभा सचिबालयलाई पठाएको थियो ।
प्रदेश सभा सचिबालयलाई सम्बोधन गरी १५ चैत ०७७ मा एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले ४३ जना सांसदको विवरण सचिबालयमा पठाएकोमा ४३ नं. मा विमला वलीको नाम रहेको छ । दाङ क्षेत्र नं.३ (ख) बाट निर्वाचित वली एमालेमै रहेको विवरण सचिबालयमा पठाएकोमा उक्त विवरणलाई पुष्टि गरी प्रदेश सभा सचिबालयले छाप लगाएको छ ।
एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले प्रदेश सभा सचिवालयले विवरण माग गरे अनुसार आफूहरुले सांसदहरुको नाम दिएको र त्यसलाई सचिवालयले पुष्टि गरेको बताए ।
‘त्यो बेला विमला वलीको नाम समेत विवरणमा समावेश थियो । सचिवालयले सदर पनि गरेको प्रमाण छ । तर पछि वलीले माओवादी रोज्दा कसरी सुरुमा माओवादी रोजेको भयो’, उनले भने ।
वलीले माओवादी रोज्नु अघि पनि एमालेका कार्यक्रममा समेत उपस्थित भएकाले पनि उनी दल रोज्दा सुरुमा एमाले भएको बताए ।
‘एमाले भइसकेपछि माओवादी बन्नुभयो । त्यसपछि हामीले स्पष्टिकरण सोध्यौं । चित्तबुज्दो जवाफ नआएपछि पार्टीले पदमुक्त गर्यो । त्यो पत्र सभामुखलाई बुझाएका छौं । त्यहीकारण वली पदमुक्त भएको सूचना सभामुखले भन्नुपर्छ । हाम्रो माग नै त्यही हो’, उनले भने ।








