माधव नेपाल पक्षका नेता मेटमणि चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण दोस्रो पुस्ताका नेताहरूको पार्टी एकता गर्ने सपना पूरा नहुने बताएक छन् नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य समेत रहेका नेता चौधरीले ओलीले जिउँदो रहँदासम्म आफू मात्रै एक छत्र राज गर्ने सपना देखेको र आफ्ना गुटका मान्छेलाई मात्रै अवसर दिने बताएका हुन्।
उनले भने,‘अहिले पनि हेर्नुहोस्, उहाँले झापाका मान्छेलाई मात्रै अवसर दिनुभएको छ। केपी ओलीले कुनै पनि हालतमा एमालेलाई सग्लो राख्न दिनुहुँदैन । केपी ओलीकै कारण पनि एमालेका दोस्रो पुस्ताका नेताहरूको पार्टी एकता गर्ने सपना पूरा हुँदैन ।’
चौधरीले ओलीको कारण एमाले विसर्जनको बाटोमा गएकोले आफूहरूले बाध्य भएर पुनर्गठन गरेको बताए । ओलीले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने कसम र किरिया खाएकोले यो अवस्था आएको समेत आरोप लगाए।
‘हामीले त एकताको लागि त्याग र तपस्या गरेका हौँ, तर केपी ओलीले एमालेलाई विखण्डन गरिछाड्ने कसम खाएकोले एकता सम्भव भएन । अहिले हामी पनि नेकपा (एकीकृत समाजवादी) गठनको प्रक्रियामा छौँ । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छौँ । भदौ ९ गते सनाखतको लागि आयोगले बोलाएको छ ।’
उनले एमालेका दोस्रो पुस्ताका नेताहरूले एकताको लागि प्रयास गरे पनि उनीहरूको प्रयास र प्रयत्न खेर जाने दाबी गरे । उनले भने,‘जोसँग ईस्यु छ, मुद्दा छ, योजना छ, त्यही पार्टी नै लार्जेष्ट पार्टी हुन्छ । हामीसँग भिजन छ ।’ उनले केपी ओलीले नेतृत्व गरेको एमाले अब सुक्ने र समाप्त हुने दाबी गरे । उनले भने,‘केपी ओलीले चालेका कदम र लिएका निर्णय कसरी सही छन् ? उहाँले गरेका निर्णय सही छन् भनेर कसले जस्टिफाई गर्न सक्छ ? संसद् विघटन दुई दुई पटक गर्नुभयो । यो गलत हो नि ।’ उनले भीम रावलसहित दोस्रो पुस्तका नेताहरूले थालेको एकता अभियानको ईच्छा, उद्देश्य पवित्र भए पनि त्यो पूरा नहुने ठोकुवा गरे ।








