भारतीय प्रधानमन्त्री मोदीका विश्वास पात्रले भेटे देउवालाई, के भयो कुराकानी ?



प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय जनता पार्टी विदेश विभाग प्रमुख डा. विजय मुरलीधर चौथाइवालेले भेटवार्ता गरेका छन्। काठमाडौं आएका चौथाइवालेले आइतबार अपरान्ह बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन्।

भेटमा चौथाइवाले देउवालाई प्रधानमन्त्री बनेकोमा बधाई समेत दिएको बालुवाटार स्रोतले जनाएको छ। उनले कांग्रेस र भारतीय जनता पार्टीको सम्बन्ध सुमधुर बनाउनु पर्नेमा जोड दिएका हुन्।

देउवा प्रधानमन्त्री बनेपछि माथिल्लोस्तरका भारतीय नेताको यो पहिलो भ्रमण हो। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र मानिन्छन्।

देउवा र चौथाइवालेबीच भेटमा नेपाल-भारत सम्बन्ध, सीमा विवाद, महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यासका जयसिंह धामीको विषयमा समेत छलफल भएको बुझिएको छ।

चौथाइवाले प्रधानमन्त्रीसँग भेट गरेको जानकारी दिँदै ट्वीट समेत गरेका छन्। उनले जनैपुर्णिमा र रक्षाबन्धनको शुभ अवसरमा देउवालाई बधाई पनि दिएको बताएका छन्।

उनी प्रधानमन्त्री देउवाको निमन्त्रणमा बालुवाटार पुगेका हुन्। अनौपचारिक भ्रमणमा रहेका चौथाइवालेको भ्रमणको उद्देश्य र भेटघाटका पात्रहरुको बारेमा खुलाइएको छैन।

प्रकाशित मिति : भदौ ६, २०७८ आइतबार  ८ : ५८ बजे