नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको ‘च्याप्टर क्लोज‘ भएको बताएका छन् । एक टेलिभिजनसँगको अन्तरवार्तामा ओलीले माधव नेपालको ‘च्याप्टर’ उनकै पार्टीमा मात्रै ‘ओपन’ भएको बताएका हुन् ।
ओलीले नेपालले पार्टी छाडेर गएपनि नेता कार्यकर्ताले विस्मात मान्न नपर्ने बताए ।
‘कोही यदि पतन भएर गयो । कोही विपक्षीसँग साठगाँठ गरेर जनताविरुद्ध गयो भने शोक गरेर, शोक मानेर बस्ने हैन । एमालेका कार्यकर्ताहरु शोकाकुल भएर बस्दैनन् । उज्जवल भविष्यको महान गन्तव्य हेरेर अघि बढ्छन्’, ओलीले भने, ‘कसैले पार्टी छोडेर गयो भन्दैमा विस्मात मान्न जरुरी छैन । रोक्न कोशिस गरिएको हो।’
उनले माओवादी शिविरमा भएको भनिएको भ्रष्टाचार आफ्नो पालामा नभएको सन्दर्भमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नै तामेलीमा राखेको बताए ।
‘क्यान्टेन्मेन्टको विषयलाई अख्तियारले अगाडि बढाउन चाहेन । अख्तियारले तामेलीमा राखेर अलमल्याएर राख्यो । त्यसकारण त्यसमा केही विलम्ब भयो, फेरि त्यो सरकार एकल पनि त थिएन,’ ओलीले भने ।
यस्तै ओलीले अब एमालेमा तेस्रो गुट स्वीकार्न नसकिने बताएका छन् ।
माधव नेपाल समूहमा रहेका तर अन्तिम समयमा आएर उनलाई साथ नदिएका नेताहरुले एकताका लागि जेठ २ फर्कनुपर्ने तथा कार्यदलको सहमति अक्षरस कार्यान्वयन गर्नु पर्नेमा जोड दिइरहेका बेला ओलीले त्यसलाई अस्वीकार गरेका हुन् ।
’अर्को गुटबन्दीको शिलशिला कुनै पनि हालतमा स्वीकार्न सकिन्न । यो कुनै स्वस्थ प्रतिस्पर्धा हैन, गुटबन्दीको निरन्तरता हो ।’ उनले जेठ २ मा फर्कन माग गर्नेहरुले वक्तव्यबाजीमा नलागेर थपक्क पार्टीमा काम गर्नुपर्ने बताए । ओलीले ७५ जेठ २ अब नआउने प्रष्ट पारे।
‘मैले उहाँहरुलाई सोध्या छैन। थपक्क पार्टीमा काम गर्न छोडेर के को वक्तव्यबाजी ?’, अन्तर्वार्तामा ओलीले भनेका छन् ।








