पूर्व गृहमन्त्री ‘बादल’का भाइ नरेश जेलबाट छुटे



पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का साईंला भाइ नरेश थापा जेलबाट छुटेका छन् । उच्च अदालत पाटनले थापालाई १ वर्ष ६ महिना थुनामा राख्न आदेश दिएको थियो ।

डिल्लीबजार कारागारका प्रमुख वसन्त पुरीका अनुसार सजाय पुरा गरेर थापा आज रिहा भएका हुन् । थापालाई केन्द्रीय अनुसन्धान ब्यूरोले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा दोषी ठहर भएका समिरमानसिंह बस्नेसँग मिलेर नरेशले आपराधिक गिरोह सञ्चालन गरेको आरोपमा पक्राउ गरेको थियो ।

आपराधिक लाभ र संगठित अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशलाई बदर गर्दै उच्च अदालतका तत्कालीन मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीमणकुमार गौतमले थापालाई थुनामा राख्न आदेश गरेका थिए ।

२०७६ असोज १ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले मागेको १ लाख धरौटी बुझाएर छुटेका थापा उच्चको आदेशपछि फेरि पक्राउ गरेका हुन् । केन्द्रीय कारागार सुन्धारामा रहेका बस्नेतसँग मिलेर नरेशले ठेकेदारलाई धम्की दिने ‘गिरोह’ सञ्चालन गरेका थिए । गौचनको २०७४ असोज २३ मा हत्या भएको थियो ।

 

प्रकाशित मिति : भदौ ७, २०७८ सोमबार  १ : ०३ बजे