अष्टलक्ष्मी मेरै सल्लाहमा मुख्यमन्त्री बन्नुभएको हो, केपीलाई हाम्रो पार्टीको ढोका खुला छ : माधव नेपाल



प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बागतमी प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफ्नो चाहानामा मुख्यमन्त्री बनेको बताएका छन् ।

मंगलबार चन्द्रागिरिमा पत्रकार सम्मेलनमा बोल्दै उनले शाक्यले मुख्यमन्त्री बन्दै गर्दा आफ्नो चाहनाबाट बनेपनि अप्ठ्यारोमा परेको बताएक छन् ।

‘उहाँ पनि अहिले अप्ठ्यारोमा हुनुहुन्छ। किनकि, अब २१ दिनभित्र पार्टी खुलाउनुपर्ने हुन्छ’, उनले भने।

नेता नेपालले शाक्यले अब लिने निर्णयका आधारमा हामीले उहाँको सरकारलाई सघाउने वा नसघाउने निर्णय हुने बताए।

नेता नेपालले गत भदौ २ गते नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिँदै गर्दा शाक्य भने बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन्। त्यसअघि शाक्य नेपाल पक्षमा थिइन्। तर मुख्यमन्त्री बनेसँगै उनी केपी ओली पक्षमा पुगेकी थिइन्।

यस्तै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले विचार र धारण परिवर्तन गरे उनका लागि ढोका खुला रहेको बताएका छन् । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीको बुद्धि सुध्रिएर विचार र धारणा परिवर्तन भए ढोका खुला रहेको बताएका हुन् ।

‘केपी ओलीले विचार र धारणा परिवर्तन गर्छन् भने उनलाई हाम्रो पार्टीको ढोका खुला छ’, नेता नेपालको भनाइ छ । उनले अझै पनि आफूलाई ओलीले घर न घाटको बनाउने षड्यन्त्र जारी राखेको भन्दै त्यसलाई असफल पार्दै अघि बढ्ने दाबी गरे । त्यस्तै उनले ओलीमा सद्बुद्धि पलाओस् भन्ने कामना गरेको बताए ।

‘हामीलाई घर न घाटको बनाउने षडयन्त्र भइरहेको छ । मौका पाए समाप्त पारिदिने, सबै किसिमको आन्दोलनबाट हटाउने षडयन्त्र असफल पार्छौ’, नेता नेपालको भनाइ छ ।

प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार  १ : २२ बजे