एमाले स्थायी कमिटी बैठकमा नेपाल पक्षका १० स्थायी कमिटी सदस्य सहभागी



माधवकुमार नेपाल पक्षीय १० स्थायी कमिटी सदस्य अन्तत: एमालेको बैठकमा सहभागी भएका छन्। मंगलबार दिउँसो च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा भएको बैठकमा उनीहरू सहभागी भएका हुन्।

यसअघि नेपाल पक्षमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहोरा, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त बैठकमा सहभागी भएका हुन्।

उनीहरू यसअघि ओलीले बोलाएका स्थायी कमिटी बैठकमा अनुपस्थित हुँदै आएका थिए। सोमबार उनीहरू सबैले बालकोटस्थित ओली निवासमा पुगेर उनीसँग छलफल गरेका थिए।

उक्त छलफलमा १० बुँदे सम्झौता कार्यान्वयन गर्न ओली तयार भएको उनीहरूले बताएका थिए। सोहीबारे निर्णय गर्न आजको स्थायी कमिटी बैठक डाकिएको हो।

नयाँ दल दर्ता गर्न नेता माधवकुमार नेपाललाई साथ नदिएका उनीहरूले आज ‌नेपालसँग पनि छलफल गर्ने बताएका थिए।

नेता नेपाल आफू पक्षीय सांसदहरूलाई लिएर सोमबार साँझ नै चन्द्रागिरि हिल्स रिसोर्टमा गएपछि आज उनीहरूले नेपाललाई भेट्न पाएका छैनन्।

नेता नेपाल र उनी पक्षीय केन्द्रीय सदस्य र सांसदहरू बुधबार चन्द्रागिरिबाट सोझै निर्वाचन आयोगमा पार्टी दर्ताका लागि सनाखत गर्न जाने कार्यक्रम छ।

प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार  ३ : ३६ बजे