नयाँ दल दर्ताका लागि सनाखत गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरू निर्वाचन आयोग पुगेका छन्।
महन्थ ठाकुर लगायतका नेताहरूले लोसपा दर्ताका लागि २ भदौमा निर्वाचन आयोगमा निवेदन दिएका थिए। त्यसमा हस्ताक्षर गरेका केन्द्रीय सदस्यको सनाखत गर्न आज आयोगले बोलाएको थियो।
यसअघि जसपाको आधिकारिकता प्रदान गर्न आयोगले सनाखत गर्दा ठाकुरका पक्षमा १६ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका थिए भने उपेन्द्र यादवका पक्षमा ३४ जना उभिएका थिए।
त्यति वेला ठाकुरको पक्षमा उभिएका केन्द्रीय सदस्यले नै नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन्। आज उनीहरू सनाखत गर्नका लागि आयोग पुगेका छन्।
यसअघि नयाँ दल दर्ताका लागि हस्ताक्षर सनाखत गर्न माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका थिए ।








