काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेताहरुले चार महिनाभित्र एकीकृत समाजवादी पार्टी मुलुककै ठूलो दल बन्ने दाबी गरेका छन् ।
बुधबार निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै सो पार्टीका नेता मेटमणि चौधरीले चार महिनाभित्र एकीकृत समाजवादी पार्टी मुलुककै ठूलो दल बन्ने दाबी गरेका हुन् ।
“प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्र यादवसम्म एकता हुन्छ,” उनले भने,“त्यसपछि हामी मुलुककै ठूलो पार्टी बन्छ ।”
अपेक्षा गरेको भन्दा धेरै सांसदको सनाखत भएको उनको भनाइ थियो ।
यस्तै नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले आफूहरुको पार्टीमा आउन चाहनेका लागि ढोका खुल्ल भएको बताएकी छन् ।
निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुगेकी उनले पत्रकारहरुसँग कुरा गर्दै एमाले नेताहरुका लागि ढोका खुलै रहेको बताएकी हुन् ।
हामी एक प्रकारको कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको चुनौतीपूर्ण र गौरवपूर्ण बाटोबाट हिँडेका छौं, यो अभियानमा सहमत हुनेहरु सामेल हुने हो’ उनले भनिन्, ‘हामो चाहनाले को आउने र नआउने भन्ने हुँदैन, त्यही भएर उहाँहरुलाई ढोका ओपन नै राख्नुपर्छ ।’
नेतृ झाँक्रीले निर्वाचन आयोगले दिल्लीमा उपचाररत नेता झलनाथ खनाललाई पनि सनाखतको अवसर दिने आशा राखेकी छन् ।
नयाँ दल गठन गर्दा सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने व्यवस्था भए पनि विगतको अभ्यास अनुसार कानुन व्यवसायी मार्फत सनाखत गर्न दिनुपर्ने उनले बताइन् ।








