मुख्यमन्त्री बन्ने तयारीमा रहेका आचार्य डुबे शोकमा



प्रदेश १ का मुख्यमन्त्री बन्ने तयारीमा रहेका भिम प्रसाद आचार्यका भाइ राम प्रसाद आचार्य मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आचार्य आफ्नै कोठामा मृत भेटिएका हुन । कोठाको ढोकाको चुकुल लगाएर सुतिरहेको अबस्थामा उनको शब भेटिएको प्रहरीले जनाएको छ ।

घरमा उनी पत्नीको साथमा बस्ने गरेका थिए । प्रहरीले अहिले घटनास्थलमा पुगिसकेको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यस्तै आज एमाले सचिव भीम आचार्य प्रदेश १ को प्रदेश सभामा पार्टी संसदीय दलको नेता चयन भएका छन् ।

बिहीवार बसेको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो । उनी आजै मुख्यमन्त्री बन्ने तयारीमा छन् ।

आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री शेरधन राई राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालयतिर लागेका छन् ।

एमाले विभाजन भएसँगै प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन हुन लागेको हो ।

विभाजन अघिको अवस्थामा प्रदेश १ मा एमालेसँग एकल बहुमत छ । नवगठित नेकपा एकीकृत समाजवादीको पक्षमा लाग्ने सांसदहरूलाई दल रोज्न २१ दिनको समय छ ।

बहुमत गुम्ने गरी सांसदहरू नयाँ दलमा लाग्नु अगावै एकल बहुमतको मुख्यमन्त्रीका रूपमा आचार्यलाई शपथ खुवाउने तयारी भएको हो ।

प्रकाशित मिति : भदौ १०, २०७८ बिहिबार  ११ : ५३ बजे