नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका छन् । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले राजिनामा दिने भएका हुन् ।
नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएका हुन् ।
‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म तपाईंसँग अब रहन्नँ र तपाईंलाई नेता मान्न पनि सक्दिनँ, तपाईले मलाई लखेट्नुभयो भनिसकेको छु’, नेता गौतमले भने, ‘उपयुक्त समयमा राजीनामा पठाइदिन्छु, सायद त्यो एक दुई दिनभित्रै हुन्छ ।’
गौतम बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा समेत सहभागी नहुने भएका छन् ।
एमालेबाट राजीनामा दिने घोषणा गरेका गौतम अब माधव नेपालमा लाग्ने धेरैको आंकलन रहेपनि यसबारे भने केहि खुलाएका छैनन् ।
गौतमले अब आफ्नै ढङ्गले अघि बढ्ने बताएका छन् । एमाले विभाजन नहुँदै गौतमले फरक सङ्गठनात्मक गतिविधि सञ्चालन गर्दै आएका छन् ।
एमाले उपाध्यक्ष गौतमले भने ‘म अब आफ्नै ढङ्गले अघि बढ्छु ।’
तपाईंले राजीनामा दिनुअघि आजै तपाईंमाथि कारवाही भयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा गौतमले ‘कारवाही गरे झन् राम्रो हुने’ प्रतिक्रिया दिए । उनले भने, ‘कारवाही गरे त झन् राम्रो नि । गरुन् न १’








