नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुट्दा ओलीले भोज खुवाएको बताएका छन् । बिहिबार पत्रकार सम्मेलनमा नेपालले नेकपा फुट्दा केपी शर्मा ओलीले भोज गरेर खुशियाली गरेको टिप्पणी गरेका हुन्।
पार्टी दर्ता भएपछि पहिलोपटक सम्बोधन गर्दै उनले ओलीमाथि दुईपटक पार्टी फुटाउन भूमिका खेलेको आरोप समेत लगाए ।
‘केपी ओलीले पार्टी फुट्दा भोज गरेर खुशीयाली मनाए,’ माधव नेपालले भने । उनले ओलीले पार्टीलाई तहसनहस पारेको आरोप समेत लगाए ।
दुईपटक प्रतिनिधि सभा विघटन र पार्टी फुटाउने किर्तिमान कायम गरेको आरोप समेत ओलीमाथि लगाए । उनले ओलीलाई अहंकारको घोडामा सवार भने ।
यस्तै अध्यक्ष नेपालले आफूले निर्माण गर्ने र अरूले ध्वंश गर्ने बताएका छन् । अध्यक्ष नेपालले केपी शर्मा ओलीतर्फ संकेत गर्दै ध्वंश गर्ने उनको काम भएको बताए ।
नेकपा (एकीकृत समाजवादी) गठन भएपछि नेकपा (एमाले)को सम्पत्ति के हुन्छ भन्ने प्रश्नमा नेपालले कानुनानुसार जे हुन्छ, त्यही गरौँला भने ।
“नेकपा एमालेको सम्पत्ति के हुन्छ भन्ने कुरा कानुनले जे भन्छ, त्यही हुन्छ,” उनले भने, “मेरो काम निर्माण गर्ने हो । अरुको काम ध्वंश गर्ने हो । हेरौँ, सम्पत्ति आयो भने ठिकै छ । नआए सिर्जना गरौँला । यसै पनि त्यो धेरैजसो सम्पत्ति मेरै पालामा धेरै जोडिएको हो ।”
उनले कम्युनिस्ट पार्टी नछोड्ने र सिर्जनशीलताको अभियान पानी जारी राखिने बताए ।








