आइतबार बालुवाटारमा बसेको पशिर्ष नेताहरुको छलफल सकिएको छ ।
मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री शेर बहादुर देउवा, गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) नेतृत्वबीच भएको छलफल ठोस निर्णयबिना टुंगिएको छ।
गठबन्धनको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको अनुपस्थिति भएपछि कुनै ठोस सहमति नजुटाएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो।
छलफलमा मन्त्रिपरिषद् विस्तारबारे कुराकानी भए पनि मन्त्रालय बाँडफाँटबारे टुंगो नलागेको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए।
सापकोटाले जसपाका अध्यक्ष यादव उपत्यका बाहिर रहेकाले पनि मन्त्रालयका बारेमा ठोस निर्णय हुन नसकेको बताए।
सापकोटाकाअनुसार बालुवाटार बैठकमा जसपा अध्यक्ष यादव उपत्यका फर्किएपछि पाँच दलीय गठबन्धन बसेर मन्त्रिपरिषद्को टुंगो लगाउने सहमति जुटेको छ।
जसपा अध्यक्ष यादव आइतबार बेलुकी काठमाडौं फर्किने बताइएको छ। सरकार पाँच दलीय गठबन्धनको भए पनि अहिले कांग्रेस र माओवादीका मात्रै मन्त्री छन्।
सरकार गठन भएको डेढ महिना पुगिसक्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेपछि आलोचना भइरहेको छ।
कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन, न्याय तथा संसदीय मामिला, नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा मन्त्रीमा नियुक्त गरेका थिए।
त्यसको १२ दिनपछि प्रधानमन्त्री देउवाले साउन १० गते कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए। त्यसयता ६ सदस्यीय मन्त्रिपरिषदबाटै देश चलिरहेको छ।








