सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेले निष्कासन गरेका माधब नेपाल सहितका १४ सांसदहरूको पद रिक्त नगर्ने निर्णय गरेका छन्।सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ती सांसदहरूले राजनीतिक दल सम्बन्धी अध्यादेश बमोजिम अलग दल दर्ता गरेको जानकारी निर्वाचन आयोगबाट प्राप्त भइसकेका कारण पद रिक्त नगर्ने निर्णय भएको जानकारी दिए।
“पत्रमा उल्लेख भएका प्रतिनिधिसभा सांसदहरू समेत संलग्न भई नेकपा एकीकृत समाजवादी दर्ता भएको जानकारी निर्वाचन आयोगबाट प्राप्त भएको सन्दर्भ समेत मनन गर्दा नेकपा एमालेको पत्रबारे कुनै कारबाही गरिरहनुपर्ने अवस्था रहेन,” सभामुखको निर्णयबारे प्रवक्ता पाण्डेले भने।
नेकपा एमालेले भदौ १ गते पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहित १४ जना सांसदहरूलाई निष्कासन गरिएको पत्र संसद् सचिवालयलाई पठाएको थियो।माधव नेपालहरुले नयाँ दल दर्ता गर्न लागेपछि एमालेले १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । एमालेले गरेको कारवाहीको पत्र संसद सचिवालयमा पठाए पनि सभामुखले त्यसलाई प्रक्रिया अगाडि नबढाई ‘विचाराधीन’ अवस्थामा राखेका थिए । सभामुखको यो भूमिकाप्रति एमालेले आपत्ति जनाउँदै आएको थियो ।








