बाग्मती प्रदेशकी प्रदेशसभा सदस्य सदिय मुनु सिग्देलले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेकपा एकीकृत समाजवादीमा आउने दावि गरेकी छन् । मंगलवार सनाखत गर्न निर्वाचन आयोग पुगेकी सांसद सिग्देलले शाक्य आफ्नै पार्टीमा पर्किने दावि गर्दै तत्काल मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नगर्ने बताएकी छिन्।
यसअघि नेकपा एमाले मकवानपु जिल्लाकी अध्यक्ष रहेकी सिग्देलले माधवकुमार नेपालको नयाँ दलमा सनाखत गराउँदै मुख्यमन्त्री शाक्यको सरकार तत्काल नढल्ने बताएकी हुन्।
‘सनाखत गर्न २२ गतेसम्म समय दिएको छ। २२ गतेसम्म अक्ष्टलक्ष्मी शाक्यजी पनि सनाखत गर्न आउन सक्नु हुन्छ। त्यसैले हामीले अहिल्यै नै अष्टलक्ष्मी शाक्यको सरकार ढल्छ भन्न सक्दैनौं,’ उनले भनिन्।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालनिकट अष्टलक्ष्मी शाक्यलाई वाग्मतीको मुख्यमन्त्री पदका लागि अघि सारेका थिए। शाक्य मुख्यमन्त्री बन्दा नेपालनिकट सांसद एमालेमै बस्ने आँकलन विपरीत मंगलबार ११ सांसद एकीकृत समाजवादीमा खुलेका हुन्।
नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा वाग्मती प्रदेशका १२ सांसदले मंगलवार सनाखत गरेका छन्।
प्रदेश निर्वाचन कार्यालय, हेटौंडामा उपस्थित भइ १२ जना सांसदहरुले सनाखत गरेका हुन्।
१२जना सांसदहरुले नयाँ दल रोजेसँगै शाक्य नेतृत्वको प्रदेश सरकार गठन भएको करिब दुई हप्तामै अल्पमतमा परेको छ। शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै उनले पार्टी परिवर्तन नगरे प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ।








