भोली हुने भनिएको कांग्रेसको वडा अधिवेशन स्थगित



भोली हुने भनिएको नेपाली कांग्रेसको वडा स्तरको अधिवेशन स्थगित भएको छ ।

जिल्ला शाखा कैलालीले एक सुचना जारि गर्दै भदौ १८ गते हुने भनिएको वडा स्तरको अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

अहिलेसम्म पनि क्रियाशिल सदस्यको नामावली उपलब्ध नभएको भन्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि वडा स्तरको अधिवेशन स्थगित भएको जिल्ला उपसभापति प्रकाश वमले बताए ।

उपसभापति वमका अनुसार जिल्ला कार्य समितिबाट निर्णय गर्दै २२ गते सम्म वडा अधिवेशन गर्ने प्रयास भइरहेको छ ।

यस्तै नेपाली कांग्रेसले सार्वजनिक गरेको तालिकाअनुसार वडा अधिवेशन आउन एक दिनमात्र बाँकी हुँदासमेत राजधानी काठमाडौँलगायत केही जिल्लामा अधिवेशनको टुङ्गो छैन ।

हालसम्म पनि काठमाडौँलगायत जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन । क्रियाशील सदस्यकै सूची सार्वजनिक नहुँदा अधिवेशन हुने वा नहुने अनिश्चितता बढेको हो । निर्वाचन समितिले क्रियाशील सदस्यता सार्वजनिक नगरिएका जिल्लाको अधिवेशन हुने वा नहुने सम्बन्धमा केही नभनेकाले पनि कार्यकर्तामा अनिश्चितता बढेको छ ।

निर्वाचन समिति संयोजक महादेव यादव पार्टी केन्द्रीय कार्यालयले हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यताको सूची दिएकाले सार्वजनिक गरिएको बताउनुहुन्छ । एक्काइस जिल्लाका क्रियाशील सदस्यताको सूची पार्टी कार्यालयबाट प्राप्त नभएकाले सार्वजनिक हुन सकेको छैन । क्रियाशील सदस्यता सार्वजनिक नभएका जिल्लामा राजधानी काठमाडौँ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, प्रदेश नं २ का आठवटै जिल्ला, डोल्पालगायत २१ जिल्ला छन् ।

क्रियाशील सदस्यको सूची सार्वजनिक भएका ५६ जिल्लामा निर्वाचन अधिकृत खटाएर यही भदौ १८ गते वडा अधिवेशन गर्ने तयारी भएको समिति संयोजक यादवले जानकारी दिनुभयो । पार्टीले क्रियाशील सदस्यको सूची दिएको दुई घण्टामा सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाउने गरी तयारी गरेर बसेको पनि उहाँले सुनाउनुभयो ।

निर्वाचन कार्यतालिकाअनुसार भदौ २७ गते पालिकास्तरीय अधिवेशनको कार्यक्रम छ । बाँकी २१ जिल्लाका वडामा त्यसअघिसम्म वडा अधिवेशन सक्ने गरी तयारी भइरहेको समितिले जनाएको छ । प्रदेश क्षेत्र, क्षेत्र, जिल्ला, प्रदेशको अधिवेशन सकी आगामी मङ्सिर दोस्रो साता १४ औँ केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको तयारी छ ।

यता बाग्लुङमा पार्टी केन्द्रले तोकेको कार्यतालिकाअनुसार शुक्रबार नेपाली कांग्रेसको वडा अधिवेशन हुनुपर्नेमा यहाँ भने केहीदिन पछिलाई धकेलिएको छ ।

यही भदौ २१ गते सोमबार जिल्लाका ८५ वटै वडामा एकसाथ अधिवेशन गर्ने निर्णय गरिएको कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । वडाको सरे पनि अरु तहको अधिवेशन भने कार्यतालिका बमोजिम नै हुने उहाँको भनाइ छ । क्रियाशील सदस्यता ढिलो प्रकाशन भएको र केन्द्रीय प्रतिनिधि पनि बुधबार मात्रै जिल्लामा आएकाले अधिवेशनको तयारी नपुग्ने देखिएपछि मिति सारिएको हो ।

“मतदान अधिकृत तोक्ने, अभिमुखीकरण गर्नेलगायतका काम गर्न समय अपुग हुने भएपछि वडा अधिवेशन सार्नुपरेको हो”, सभापति थापाले भन्नुभयो । अधिकांश जिल्लामा क्रियाशील सदस्यता सार्वजनिक भइसक्दा तीन दिनपछि मात्र यहाँको सूची आएको थियो । वडादेखि केन्द्रसम्मको नेतृत्व छान्ने गरी हुन लागेको महाधिवेशनले कांग्रेस वृत्त गर्माएको छ । नेताहरु कार्यकर्ताको मत लिएर नेतृत्वमा पुग्ने दाउमा छन् । कार्यकर्ता सबल नेता चुनिनुपर्ने बताइरहेका छन् ।

वडातहका अधिवेशनमा भरसक सहमतिबाटै नेतृत्व छनोटको पहल हुने जिल्ला सभापति थापाले बताउनुभयो । “सहमति हुन नसक्दा त लोकतान्त्रिक विधि छँदै छ, त्यही अनुसार हुन्छ”, उहाँले भन्नुभयो । वडाबाट निर्वाचित हुने प्रतिनिधिले स्थानीय तह, प्रदेश/सङ्घ निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनमा भाग लिन पाउनेछन् ।

वडा अधिवेशनपछि यही भदौ २७ गते गाउँ÷नगर, प्रदेश निर्वाचन क्षेत्रको असोज १ गते, सङ्घीय निर्वाचन क्षेत्रको ५ गते, जिल्ला अधिवेशन १० गते, प्रदेशको कात्तिक १०–१२ र केन्द्रीय महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म गर्ने कार्यतालिका छ

प्रकाशित मिति : भदौ १७, २०७८ बिहिबार  १० : २८ बजे