‘विश्वसनीय र भरोसायुक्त पार्टी बनाउन महाधिवेशनले सहयोग पुग्छ’



नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त पार्टी बनाउन महाधिवेशनले सहयोग पुग्ने बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि आजदेखि सुरु भएको वडा अधिवेशनको पूर्वसन्ध्यामा आज एक विज्ञप्ति जारी गरी उहाँले महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई सबल बनाउँदै पार्टीभित्र ताजा अक्सिजनको सञ्चार हुने बताउनुभएको हो ।

उहाँले पार्टीको १४औँ महाधिवेशन उत्सवका रूपमा आएकाले निर्वाचनका माध्यमबाट पार्टीको नयाँ नेतृत्व र प्रतिनिधि चयन गर्दै आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने बताउनुभयो । “कांग्रेसको महाधिवेशन उत्सवका रूपमा मात्र नभई महाधिवेशनले सम्पूर्ण लोकतन्त्रवादीलाई जिम्मेवार र विवेकपूर्णरूपमा अन्तरआत्माको आवाज सुन्न घच्घच्याइरहेको छ”, डा कोइरालाले भन्नुभएको छ ।

कांग्रेसको महाधिवेशन पार्टीको विधान र संविधानभन्दा बाहिर गएर हुने परिस्थिति आउन नदिन सबै सचेत हुनुपर्ने उहाँको भनाइ छ । डा कोइरालाले विगतमा पार्टीभित्र गुट र विभाजनको स्थायी चरित्रका रूपमा बसेको संस्कार हटाउन नसक्दा आम निर्वाचनमा कांग्रेस कम्युनिष्टभन्दा कमजोर भएको जनाउँदै १४औँ महाधिवेशनबाट ‘गुट र गिरोह’ अन्त्य गर्न लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले कांग्रेसको महाधिवेशन देशभित्र मात्र नभएर विदेशमा पनि चासोका साथ हेरिने गरेकाले यसलाई सम्पन्न गर्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार  ११ : ३२ बजे