नेपाली काँग्रेस संस्थापन इतरसमुहको बैठक बस्ने भएको छ । बैठक सोमबार दिउसोँ २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न लागि बैठक बोलाएको कांग्रेस संस्थापन इतरसमुहका एक नेताले जानकारी दिए । पौडेलले २० जिल्लाको क्रियाशील सदस्यता विवाद, महाधिवेशनको निष्पक्षता लगायतका विषयमा छलफल गर्न बैठक राखेका बुझिएको छ । २० जिल्लामा क्रियाशील सदस्यता विवाद नटुंगिदा अधिवेशनको कार्यतालिका नै संशोधन गरिएको छ ।
५७ जिल्लामा भदौ १८–२५ गतेभित्र वडा अधिवेशन भएपनि २० जिल्लाको क्रियाशील सदस्यता नामावली नै सार्वजनिक भएन । उक्त जिल्लामा असोज ५ गते वडा अधिवेशन तोकिएको छ । तर क्रियाशील सदस्यताको विवाद झै पनि टुंगिएको छैन ।
यस्तै विवादकाबीच सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भने वडा अधिवेशन सम्पन्न भएको छ । डडेल्धुराको वडा अधिवेशनको घटनाले महाधिवेशन निष्पक्ष हुनेमा पौडेल पक्ष सशंकित देखिएको छ ।