नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा लागि ५७ जिल्लामा वडा नेतृत्व चयन भइसकेको छ भने २० जिल्लामा असोज ५ गते अधिवेशन हुने कार्यतालिका सार्वजनिक भएको छ ।
वडा अधिवेशन सुरु भएसँगै माथिल्लो तहमा पनि नेतृत्व हत्याउन नेताहरुले आन्तरिक रणनीति बनाइरहेका छन् । केन्द्रीय पदाधिकारीपछि नेताहरुको नजर प्रदेश सभापतिमा परेको छ ।
प्रदेश सभापतिका लागि कांग्रैका केन्द्रीय सदस्य र एक कार्यकाल भन्दा बढी जिल्ला सभापति भएका नेताहरुले दाबेदारी प्रस्तुत गरिरहेका छन् । नेताहरुलाई विधानले लगातार तेस्रो कार्यकाल सभापतिमा उम्मेदवारी दिन नमिल्ने भएपछि जिल्ला राजनीतिबाट रिङआउट भएका नेताहरु प्रदेश अध्यक्ष ताकिराखेको अवस्था छ ।
मुलुक संघीय संरचनामा गएसँगै काँग्रेसले पहिलो पटक प्रदेश समिति निर्माण गर्न लागेको हो । संघीय संरचना अनुसार स्थानीय तहमा पार्टी समायोजन गरेको काँग्रेसले प्रदेश कमिटी भने १४ औं महाधिवेशनका क्रममा बनाउन लागेको हो ।
आगामी कात्तिक १० गतेदेखि १२ गतेसम्म हुने प्रदेश अधिवेशनका लागि संघीय राजधानी समेत रहेको बागमती प्रदेशको पार्टी अध्यक्षमा एक जना केन्द्रीय सदस्य र ६ जना जिल्ला सभापतिले दाबेदारी प्रस्तुत गरेको अवस्था छ ।
केन्द्रीय सदस्य मोहन बस्नेतले बागमती प्रदेश अध्यक्षमा इच्छा जाहेर गरिरहदा मकवानपुर जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ र भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले समेत प्रदेश सभापतिमा आकांक्षा राखेका छन् ।
यस्तै नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसी, काभ्रे जिल्ला सभापति मधु आचार्य धादिङ जिल्ला सभापति रमेश धमला पनि प्रदेश सभापतिका मुख्य दाबेदार देखिदा काठमाडौं जिल्लाका पूर्व सभापति भीमसेनदास प्रधानले आकांक्षा देखाएका छन् ।








