एमाले अध्यक्ष ओली र कानुन मन्त्रीबिच भेटबार्ता



प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग कानुन मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भेटवार्ता गरेका छन्। मंगलबारबालकोट पुगेर मन्त्री कार्कीले अध्यक्ष ओलीसँग कुराकानी गरेका हुन्।

उक्त भेटमा अध्यक्ष ओलीले सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी र खारेजी गर्नु असंवैधानिक र बदनियतपूर्ण रहेको बताएका थिए।

‘सरकारले पार्टी फुटाउने प्रयोजनका लागि जारी गरेको अध्यादेश असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो। जुन बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको छ,’ ओलीले मन्त्री कार्कीसँग भनेका थिए।

चलिरहेको संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइनु एमालेविरूद्ध षड्यन्त्र रहेको ओलीको भनाइ थियो।

सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउनुमा आफूहरूको गम्भीर आपत्ति रहेको ओलीको भनाइ रहेको अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

प्रकाशित मिति : आश्विन १२, २०७८ मंगलबार  १ : २५ बजे