काठमाडौं । सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा जुट्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार शिर्ष नेताहरुको बैठक डाकेका हुन्।
गत बिहीबार बसेको सत्ता गठबन्धन बैठकले अध्यादेश खारेजी गर्ने र तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमतीका आधारमा गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरी राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
अध्यादेश खारेज भएपनि त्यसयता सत्तागठबन्धन बैठक बस्न सकेका छैन । तयारी अनुरुप काम हुन नसक्दा सत्ता गठबन्धनबीच मन्त्रालयको भागवण्डा मिल्न सकेको छैन ।
आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटपछि बिहीबारका लागि बैठक डाकेका छन् ।
“गठबन्धनको बैठक भोलि बिहानका लागि बोलाइएको छ,” सत्ता गठबन्धनका नेता तथा जसपा अध्यक्ष उपेन्द्र यादवले भने, “भोलि सम्भवत मन्त्रालयको भागवण्डाको टुंगो लाग्छ ।” उनका अनुसार भोलि मन्त्रालयको भागवण्डा मिले पनि भोलि नै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना कम छ ।








