कोइरालाको निधनपछि बाँकेमा कोइराला पक्ष च्यापिँदै



नेपालगञ्ज – सुशील कोइराला बाँचुन्जेल बाँके जिल्ला कांग्रेसको केन्द्रविन्दुमा रह्यो। पार्टीमा कोइराला पक्षको हालीमुहाली नै भयो। पार्टी सभापति र प्रधानमन्त्रीसमेत भएका सुशील कोइरालाको निधनपछि बाँकेमा कोइराला पक्ष च्यापिँदै गएको छ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधरले कोइराला पक्षलाई पेलान सुरु गरेको छ। अहिलेसम्म पार्टी सभापतिमा बाजी मार्न नसकेको देउवा पक्षले यसपालि जसरी पनि ‘नेतृत्व’ हत्याउने दाउमा रहेको देखिन्छ।

यही विवादले गर्दा वडा अधिवेशनको मुखैमा निर्वाचन समितिको सचिवालयमा तालाबन्दी भएको छ। देउवा पक्षधरले फर्जी नामावली जिल्लामा पठाउन तयार गरेको सुइँको पाएपछि कोइराला पक्षले तालाबन्दी गरेको हो। जिल्ला सभापति किरण कोइरालाको उपस्थितिमै सचिवालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ।

कांग्रेसको २७ गते वडा र ३० गते पालिका अधिवेशन रहेको छ। विवादमा परेका १३ जिल्लाका लागि यो तालिका सार्वजनिक गरिएको छ। बाँकेमा सुरुदेखि नै क्रियाशील सदस्यता विवाद देखिएको छ।

विवाद मिलेर अधिवेशनको तयारीमा जुटिरहँदा फेरि केन्द्रबाट २ सय ३९ जनाको नामावली जिल्लामा आउँदै छ भन्ने सुइँको पाएपछि कोइराला पक्षधरले निर्वाचन समितिको सचिवालयमा तालाबन्दी गरेका छन्। कोइराला पक्षधर नेता पोषण केसीले केन्द्रबाट थप नामावली पठाउन थालेपछि पार्टी कार्यालयमा तालाबन्दी गरेको जानकारी दिए।

केन्द्रले छुटपुट भन्दै २ सय ३९ जनाको नामावली पठाउन थालेको कोइराला पक्षधर नेताको भनाइ छ। क्रियाशील सदस्यको बढी विवाद क्षेत्र नम्बर १ मा देखिएको छ। अहिले थपिएको २ सय ३९ जनामध्ये पनि धेरैजसो क्षेत्र नम्बर १ कै रहेको कोइराला पक्षधर नेता बताउँछन्।

सुशील कोइराला पार्टीको केन्द्रविन्दुमा रहँदा सधैँ किनारामा परेका देउवा पक्षधरले यसपालि जसरी नेतृत्व हत्याउनका लागि आफूपक्षीय धेरै जनालाई क्रियाशील सदस्यता बाँडेको छ।

जिल्ला सभापति रहेकै गुटले पार्टी कार्यालयमा रहेको सचिवालयमा तालाबन्दी गरेपछि फेरि बाँकेको अधिवेशन रोकिने अवस्था आएको छ। ‘विवादित कुरा नमिलेसम्म अधिवेशन गर्न दिँदैनौँ,’ केसीले भने, पहिला आइसकेको नामबाहेक अरू थप्न पाइँदैन।’

पार्टीले बाँकेमा निर्वाचन गराउन रेवतीरमण भट्टराईलाई पठाएको छ। अधिवेशनको मुखमै विवाद भएपछि फेरि अधिवेशन सर्ने अवस्था आएको छ। निर्वाचन तालिकाअनुसार २७ गते वडा अधिवेशन, ३० गते पालिका अधिवेशन, मंसिर ३ गते प्रदेश सभा क्षेत्र अधिवेशन, ६ गते प्रतिनिधि सभा र १० गते जिल्ला अधिवेशन छ।

प्रकाशित मिति : कार्तिक २५, २०७८ बिहिबार  ५ : ५९ बजे