अछामले स्थानीय तह निर्वाचन लक्षित सुरक्षा रणनीति तयार पारेको छ । निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षा योजना निर्माण गरेको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिए ।सुरक्षा समन्वय समिति अछामले ५५ मतदानस्थललाई ‘अति संवेदनशील’ को सूचीमा राखेको छ। यस्तै, एक सय ३० मतदानस्थलमध्ये सुरक्षाका हिसाबले ५४ संवेदनशील र २१ सामान्य रहेको प्रजिअ मरासेनीले बताए ।
विगतको निर्वाचनको समीक्षा, संञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता तथ्यलाई आधार मानेर निर्वाचनस्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको हो । सोहीअनुसार सुरक्षा निकाय परिचालन हुनेछन् । मतदान केन्द्र, मतदानस्थल, निर्वाचन अधिकृतको कार्यालय, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुनेगरी सुरक्षा योजना तयार गरिएको छ ।
मतदान स्थलमा एक हजार चार सय ९० म्यादी प्रहरी परिचालन हुनेछन् । कमलबजार, मंगलसैन र साँफेबगर नगरपालिकामा नेपाली सेनाको बेसक्याम राखिने प्रजिअ मरासेनीले बताए । यस्तै, सुरक्षा दृष्टिकोणले एक निर्वाचनस्थलमा कम्तिमा आठ र बढी १५ जना प्रहरी परिचालन र नगरपालिका दुई र गाउँपालिकामा तीन सशस्त्र प्रहरी मोबाइल टोली खटाइने छ ।चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको अछाममा दुई सय सात वटा मतदान केन्द्र छन् । यहाँ एक लाख ५६ हजार दुई सय ८० मतदाता छन् ।










