जीतपुरसिमराको नगर सभा विषय प्रवेश नगरी स्थगित



बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगर सभा सुरु नै नभई स्थगित भएको छ । बकुलिया क्याम्पसको सभाहलमा शुक्रवार आयोजना गरिएको सभा विषय प्रवेश नगरी स्थगित भएको हो ।

कार्यपालिका बैठकमा निर्णय नै नगरी निति तथा कार्यक्रम र वडा सिलिङ ल्याउन खोजिएको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यले विरोध जनाएपछि सभा सुरु हुन नसकेको हो । नगर सभामा प्रस्तुत हुनुअघि निति तथा कार्यक्रम र वडा सिलिङको विषयमा छलफल हुनुपर्ने वडाध्यक्ष र कार्यपालिका सदस्यको भनाई थियो ।

सभा सुरु हुनुअघि वडाको निति तथा कार्यक्रम र वडाको बजेट निर्धारण गर्न प्रमुख पौडेलसँग आग्रह गरेका वडाध्यक्ष र कार्यपालिकाले त्यसपछि मात्रै सभालाई अघि बढाउन माग गरेका थिए । तर, वडाध्यक्ष र कार्यपालिका सदस्यको मागका विषयमा छलफल हुन नसकेपछि प्रमुख पौडेलले सभा स्थगित गरेका हुन् ।

नगर प्रमुख राजन पौडेलले गणपुरक संख्या नपुगेको भन्दै सभा स्थगित भएको घोषणा गरेका थिए । पौडेलले गणपुरक संख्या नपुगेको बताईरहदा सभा हल भने नगर सभा सदस्यले भरिएको थियो ।

नगर सभाको विषयमा असहमति जनाएका नगर सभा सदस्यले उपस्थिती पुस्तिकामा हस्ताक्षर नगरेका कारण गणपुरक संख्या नपुगेको हो । नेकपा माओवादी केन्द्रबाहेक अन्य दलबाट निर्वाचित वडाध्यक्ष, कार्यपालिका सदस्य र नगर सभा सदस्यबाट अधिकांशले उपस्थिति जनाएका थिएनन् ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब ३ बजेसम्म सुरु नभएपछि प्रमुख पौडेलले स्थगित गरेका थिए । स्थगित गरिएको सभाको अर्को मिति भने तोकिएको छैन् ।

प्रकाशित मिति : असार ११, २०७९ शनिबार  ९ : २३ बजे