नयाँ शक्ति र फोरमको एकताको घोषणा, नयाँ वैकल्पिक राजनीतिक शक्तिको बन्ने उद्घोष्



काठमाडौं वैशाख, २३–
सोमबार संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच औपचारिक एकता भएको छ । प्रज्ञा प्रतिष्ठानमा एक औपचारिक कार्यक्रमकाबीच दुई पार्टीको एकिकरण भएको हो । नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नयाँ पार्टी समाजवादी पार्टी नेपाल हुने घोषणा गरेका हुन् ।
एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको नेताहरुले दाबी गरेका छन् । एकतापछि पार्टीको पहिलो वरियतामा भट्टराई र दोस्रो वरियतामा यादव रहनेछन् । भट्टराई संघीय परिषदको अध्यक्ष र यादव केन्द्रीय समितिको अध्यक्ष रहने सहमति छ । केन्द्रीय समितिले गरेका निर्णय उल्ट्याउन सक्ने अधिकार संघीय परिषद अध्यक्षमा रहनेछ ।

सभामा नयाँ शक्तिका संयोजक भट्टराई र फोरमका अध्यक्ष यादवले नौ बुँदे सहमतिमा हस्तक्षर गरेका छन् । ‘यो एकीकरणबाट नेपालमा नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको छ । संघीयता, सुशासन, समृद्धि र समाजवादाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुविकरण अत्यावश्यक छ’ सहमति पत्रमा भनिएको छ ।

समाजवादी पार्टीले उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको सुझावअनुसार संविधान संशोधन गरेर १० प्लस १ प्रदेश बनाउनुपर्ने बताएको छ । मधेशका मुद्दामा केन्द्रीत राजनीति गरिरहेको फोरम र माओवाद त्यागेर वैकल्पिक शक्ति बन्न खोजिरहेको नयाँ शक्तिबीच समाजवादसहित अघि बढ्ने सहमति भएको हो ।

दुई वर्षदेखि चलेको वार्तालाई निष्कर्ष दिँदै दुई दिनअघि पार्टी एकिरकण गर्ने सहमति भएको थियो । नवगठित समाजवादी पार्टी नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिने नेताहरुले बताएका छन् । दुई पार्टी एकीकरणको एउटा आधार यसलाई मानिएको छ । शासन प्रणाली भने पूर्ण समानुपातिक संसदमा आधारित हुने भएको छ ।

पार्टीले अघि सारेको कार्यक्रमका १५ मौलिक विशेषता हुने बताइएको छ । राष्ट्रिय स्वधीनता, संघीय शासन, समाजवादी व्यवस्था, सहभागीतामूलक समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, सामाजिक न्यायलगायत छन् ।

संघीय समाजवादी फोरम नेपालले अवलम्बन गरिआएको संघीय समाजबाद र नयाँ शक्तिले अवलम्बन गर्दै आएको सम्मुनत समाजवादको आधारमा सम्मुनत संघीय समाजवादको सिद्धान्त अघि सार्ने निष्कर्षमा उनीहरु पुगेका छन् ।

संघीय संसदमा नयाँ शक्तिका एक र फोरमबा १६ सांसद छन् ।

प्रकाशित मिति : बैशाख २३, २०७६ सोमबार  ९ : ५७ बजे