काठमाडौं वैशाख, ३१–
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाडले संसदमा ‘हजुरको सरकार’ भन्ने शब्द प्रयोग गरेका छन् । मंगलबार बजेटको सिद्धान्त र प्राथमिकतामाथि संसदमा भएको छलफलमा प्रमुख सचेतक खाडले सो शब्द प्रयोग गरेका हुन् ।
सरकारले नीति तथा कार्यक्रममा मात्र होइन, बजेटको सिद्धान्त र प्राथमिकतामा समेत मौलिक हक कार्यान्वयन गर्न प्रतिवद्ध छु भनेको तर, व्यवहार त्यस विपरीत गरेको बताए । ‘हजुरको सरकारले नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक ल्यायो’ उनले भने, ‘यो विधेयक अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने, प्रेस स्वतन्त्रता कुन्ठित गर्ने खालको छ ।’
मानवअधिकार आयोगसम्बन्धी विधेयक पनि त्यस्तै भएकाले फिर्ता लैजान आग्रह गरे । आफूले ‘मेरो सरकार’ भन्न मिल्यो कि मिलेन भन्ने अन्यौल रहेकाले हजुरको सरकार भन्नु परेको कांग्रेस सांसद खाडले बताए ।








