प्रचण्डको प्रश्नः केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई लाइन लाएर प्रधानमन्त्री बनाउने म कसरी अस्थिर ?



काठमाडौं जेठ, १–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो योगदानलाई अवमूल्यन नगर्न आग्रह गरेका छन् ।अध्यक्ष प्रचण्डले तत्कालिन एमालेका तीन नेताहरुलाई प्रधानमन्त्री बनाउने सामर्थ्य राख्ने आफूलाई अवमूल्यन गरिएकोमा प्रचण्डले. गुनासो गरेका हुन् ।
तत्कालिन एमालेको युवा संगठन युवासंघ नेपालको २९ औं स्थापनामा प्रमुख अतिथिको रुपमा सहभागी भएका प्रचण्डले सो कुरा बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई आफूले लाइन लाएर प्रधानमन्त्री बनाएको दावी गरे ।

मन्च र दर्शकदीर्घामा पूर्वएमाले समर्थित नेता कार्यकर्ताको खचाखच भीडलाई सम्बोधन गर्दै उनले आफू समय अनुसार चल्ने नेता भएको समेत प्रष्ट पारे । उनले आगामी दिनमा अझै नयाँ प्रयोग गरेरमात्र मर्ने चाहना रहेको भन्दै आफूलाई साथ दिन तत्कालिन एमालेका नेता कार्यकर्तालाई आह्वान गरे ।

प्रचण्डले भने–माधव नेपाल कम्युनिस्ट आन्दोलनको नेता हो,उहाँ संसदमा चाहिन्छ भनेर चिठी लेख्ने र प्रधानमन्त्री बन्ने अवस्था ल्याएको मैले हो । सबैभन्दा ठूलो पार्टीको नेता हुँदा हुँदै मैले नै झलनाथजीलाई बनाउँदा राष्ट्रिय स्वाधीनता बाँच्छ भनेर छापामार शैलीमा प्रधानमन्त्री बनाएको हुँ ।

केपी ओलीलाई संविधान बनाउँ तपाई प्रधानमन्त्री भनेको हुँ । यो पटक पनि चुनावअघिनै तपाई प्रधानमन्त्री भनेको हुँ । अब तपाईहरुले मलाई के भन्नुहुन्छ ? अस्थिर भन्नुहुन्छ कि क्या गज्जबको भन्नुहुन्छ ।’

अध्यक्ष प्रचण्डले युवाहरुको साथ पाए अझै पनि केही नयाँ प्रयोग गरेरमात्र ‘माथि जान’ मन छ भन्दै आफूलाई साथ दिन आग्रह गरे । उनले पार्टी एकीकरणको बाँकी काम तत्कालै टुंगो लाग्नेसमेत बताए ।

प्रकाशित मिति : जेष्ठ १, २०७६ बुधबार  ११ : ३२ बजे