काठमाडौं जेठ, १४–
कांग्रेस महामन्त्री डा शशांक कोइरालाले खड्ग ओली नेतृत्वको वर्तमान सरकार संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाने दिशामा अघि बढेको आरोप लगाएका छन् । उनले ओली सरकारकै कारण देशमा संविधान संशोधनको खतरा बढेको बताएका हुन् । सोमबार नेपाल प्रेस युनियनको २८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले कम्युनिस्ट ओली नेतृत्वको सरकारले विप्लवलाई देखाएर संविधान फेर्ने खतरा योजना हुनसक्ने सम्भावना रहेको दावी गरे ।
नेकपा नेतृत्वको सरकारले संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाने खतरा देखिएको उनले प्रष्ट पारे । महामन्त्री कोइरालाले भने, ‘मलाई के लाग्छ भने यिनीहरुले विप्लवसँग वार्ता गर्छन्, वार्ता गरेर विप्लवलाई पनि ल्याउँछन् ।’
विप्लवलाई मूलधारमा ल्याउने बहानामा संविधान संशोधन गरेर संसदीय प्रणाली नै हटाउने खतरा बढेको उनको भनाइ थियो ।
उनले भने, ‘एउटा खतरा कहाँनेर छ भने हाम्रो जुन संविधान छ, यसैलाई देखाएर, विप्लवलाई पनि ल्याउनुपर्यो त्यसैले संविधान संशोधन गर्नुपर्यो भन्ने अभिप्रायले हाम्रो संविधान नै संशोधन गरिदिने खतरा छ ।’








