मोदीको शपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली भारत जाँदै, निम्तो स्वीकार गर्नेमा नेपालका प्रधानमन्त्री पहिलो



काठमाडौं जेठ, १४–
प्रधानमन्त्री केपी शर्मा ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुन भारत जाने भएका छन् । मोदीको शपथग्रहण कार्यक्रममा विदेशी कार्यकारी प्रमुखलाई गरिएका निम्तोमध्ये सबैभन्दा अगाडि भ्रमण ‘कन्फर्म’ गर्नेमा नेपालका प्रधानमन्त्री ओली रहेको भारतीय पत्रिका बिजनेश स्ट्यान्डर्डको अनलाइन संस्करणले जनाएको छ ।
उक्त अनलाइनमा एकजना मन्त्रीले नाम उल्लेख नगर्ने शर्तमा जनाएको भन्दै प्रधानमन्त्री ओली बिहीबार नै त्यसतर्फ जाने जनाएको छ । बिहीबार साँझ ७ बजे भारतको राष्ट्रपति कार्यालयमा आयोजना हुने शपथ ग्रहण कार्यक्रममा सहभागी हुने बताईएको छ । त्यसपछि भोलिपल्ट दुई देशबीच दुईपक्षीय वार्ता हुने बताइएको छ ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ओली जेठ १६ गते दिल्ली जानेछन् । सोही दिन मोदीको सपथग्रहण छ । ओली सपथग्रहण र मोदीसँग द्विपक्षीय वार्तापछि जेठ १७ गते नै स्वदेश फर्किनेछन् ।
सो समारोहमा बिमस्टेकका सदस्य राष्ट्र तथा किर्गिस्तान र मोरिससका कार्यकारी प्रमुखको पनि सहभागिता हुने बताइएको छ । भारतका विदेश प्रवक्ता रभीस कुमारलाई उद्धृत गर्दै सो अनलाइनमा भारत सरकारको छिमेकी पहिलो नीतिअनुसार नै शपथग्रहण कार्यक्रममा विदेशबाट अतिथी निम्त्याइएको जनाएको छ ।
यसअघि निर्वाचनको मतगणना भइरहेकै बेलामा भाजपा निकै अगाडि देखिएपछि प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई ट्विटमार्फत बधाई दिएको कुराले पनि चर्चा पाएको थियो ।

प्रकाशित मिति : जेष्ठ १४, २०७६ मंगलबार  ५ : ४७ बजे