काठमाडौं जेठ, १४–
एनसेलको मुख्यालयमा बम काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका ३ जनाले उक्त दल परित्याग गरेको घोषणा गरेका छन् ।
गत चैत ९ मा मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनसँगै पक्राउ परेका शंकर अधिकारी, सञ्जीव कार्की र देवराज घिमिरेले नेकपा छोडेको घोषणा गरेका हुन् ।
विप्लव नेतृत्वको नेकपा परित्याग गरेको घोषणा गरेका अधिकारी खानेपानी मन्त्री विना मगरका पूर्वपति समेत हुन् । उनी समूहको मध्यकमाण्ड सचिव थिए । कार्की र घिमिरे पनि मध्यकमाण्डमै कार्यरत् थिए ।
शुक्रबार जिल्ला अदालत, ललितपुरले उनीहरुलाई तारेखमा छाडेपछि सोमबार जिल्ला प्रशासन कार्यालय पुगेर उनीहरुले लिखित रुपमै पार्टी परित्याग गरेका घोषणा गरेका हुन् ।
यसअघि आइतबार अपराह्न काठमाडौंको सुकेधारा र घट्टेकुलामो भएको बम विष्फोटमा परेर विप्लव समूहकै ४ जना कमाण्डरको मृत्यु भएको थियो ।








