कांग्रेस कमजोर बन्दा लोकतन्त्रवादीहरुमा समेत निराशा छायोः कांग्रेस नेता प्रकाशमान सिंह



काठमाडौं जेठ, २०–

कांग्रेस नेता प्रकाशमान सिंहले संघीयतासहितको संविधान जारी गरेको कांग्रेसकै संगठन संविधान अनुरुपको नभएको बताएका छन् । पूर्वमहामन्त्री समेत रहेका सिंहले कांग्रेसको संगठन संविधान अनुरुप नभएकै कारण  पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान प्रभावकारी हुन नसकेको बताएका छन् । सोमबार बिहान आफ्नै  निवासमा कांग्रेसका जिल्ला समन्वय समितिका सभापति तथा पदाधिकारीहरुसँगको भेटघाटमा  नेता सिंहले उक्त कुरा बताएका हुन् ।

संविधानअनुसार पार्टीको संरचना नबनाउँदा धेरैलाई जिम्मेवारी दिन नसकिएको र पार्टी नेता–कार्यकर्ताहरुमा निराशा छाएको उनको भनाइ थियो । नेता सिंहले भने,  ‘आफैंले जारी गरेको संविधान प्रभावकारी रुपमा लागू गराउनु पर्ने अवस्थामा कांग्रेस झनै आफैंभित्र अलमलिएको अवस्थामा रहनुले आम लोकतन्त्रवादीहरुमा समेत निराशा छाएको छ ।’  नेता सिंहले पार्टी संस्थागत रुपमा चल्न नसकेकाले लथालिङ्ग अवस्थामा पुगेको बताए । कांग्रेसलाई बिचार र सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थमा चलाउन खोजिएकाले निराशाजनक अवस्था आएको उनले प्रष्ट पारे । यो विषयलाई  गम्भीरतापूर्वक लिनु पर्ने नेता सिंहो जोड थियो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई खबरदारी गर्न र पार्टी सदृढ गर्न भन्दै  गत वैशाख २५ गदेदेखि देशव्यापी जागरण अभियान चलाइरहेको छ ।

प्रकाशित मिति : जेष्ठ २०, २०७६ सोमबार  ६ : ०६ बजे