काठमाडौं जेठ, २२–
बैठकमा अध्यक्ष ओली र प्रचण्डले ७७ वटै जिल्लामा इन्चार्ज र सहइन्चार्जसहित एक सय ४४ जनाको सूची प्रस्तुत गरेका थिए । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
दुई अध्यक्षले आइतबार र सोमबारको गृहकार्यपछि मंगलबार बिहान बालुवाटारमा वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेका थिए । तर, नेपालले मन्त्री र सांसदबाहेक जिल्लामा सिनियर केन्द्रीय सदस्यमध्येबाट छनोट गर्ने मापदण्डलाई आधार मान्नुपर्ने अडान राखेपछि सहमति हुन नसकेको हो । अध्यक्षद्वयको प्रस्तावमा भने मन्त्री र सांसदहरूलाई पनि इन्चार्ज र सहइन्चार्जको प्रस्ताव गरिएको छ । असहमतिकै बीचमा दिउँसो ३ बजेबाट सुरु भएको सचिवालय बैठकमा पनि निष्कर्ष ननिस्किएपछि बुधबार पुनः बैठक बोलाइएको नेताहरूले बताए ।
बैठकमा अध्यक्ष ओलीले प्रदेश इन्चार्ज र सहइन्चार्ज, पदाधिकारी तथा जिल्ला संयोजक–सचिवको छनोट गर्दा ‘दोहोरो जिम्मेवारी नहुने’ मापदण्ड लागू नगरिएकाले जिल्ला इन्चार्ज र सहइन्चार्ज छनोटमा मात्र फरक मापदण्ड लागू हुन नसक्ने अडान राखेका थिए । तर, ओलीको भनाइप्रति प्रतिवाद गर्दै नेपालले जिल्ला नेतृत्व साबिक कमिटीका पदाधिकारीमध्ये वरिष्ठलाई छनोट गरिएकाले दोहोरो जिम्मेवारी नहुने गरी सबैले स्विकार्न सक्ने ‘सिनियर’ केन्द्रीय सदस्यमध्येबाट इन्चार्ज र सहइन्चार्ज तोक्नुपर्ने अडान राखेको एक नेताले बताए । नेपालले यसअघि पोलिटब्युरो सदस्य टुंगिएपछि उनीहरूलाई नै इन्चार्ज बनाउनुपर्ने अडान राख्दै आएका थिए । तर, दुई अध्यक्षले पोलिटब्युरो गठन नटुंगिँदै कार्यविभाजन प्रस्ताव ल्याएपछि नेपाल आफूलाई कमजोर पार्ने गरी एकलौटी गर्न खोजिएको बुझाइमा छन् ।
‘उहाँहरूले आ–आफ्ना अडान र तर्क कायम राख्नुभएकाले ठोस रूपमा छलफल अघि बढेन,’ एक सचिवालय सदस्यले नयाँ पत्रिकासँग भने, ‘प्रस्तावमाथि थप अध्ययन गरेर बुधबार टुंग्याउने गरी बैठक स्थगित भएको छ ।’ ओली–नेपालबीच कुरा नमिलेपछि अर्का अध्यक्ष प्रचण्डले सहमतिका लागि थप प्रयत्न गरेनन् । ‘दुई अध्यक्षबीच गृहकार्य भएर प्रस्ताव आएकाले उहाँ ९प्रचण्ड०ले कुन मापदण्डका आधारमा टुंग्याउने भन्नेबारेमा कुनै धारणा राख्नुभएन, उहाँ मौन नै बस्नुभयो,’ ती नेताले भने । ओलीको प्रस्तावमा सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले साथ दिए भने नेपालको भनाइलाई झलनाथ खनाल, वामदेव गौतम र नारायणाजी श्रेष्ठले समर्थन जनाएका थिए । तर, अर्का सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ भने अध्यक्ष प्रचण्डजस्तै मौन बसेको स्रोतले जनाएको छ ।
जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने प्रस्ताव प्रस्तुत भए पनि ३२ केन्द्रीय विभागको जिम्मेवारी बाँडफाँडबारे तीन शीर्ष नेताबीच छलफल भएको छैन । महत्वपूर्ण मानिने संगठन विभागमा रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, महासचिव पौडेल आकांक्षी देखिएपछि बाँकी विभागबारे थप छलफल नै भएको छैन । विदेश विभाग, स्कुल विभाग, प्रचार तथा प्रकाशन विभाग, राजकीय मामिला विभाग, अर्थ विभागजस्ता महत्वपूर्ण विभाग प्रमुख सचिवालयकै नेतामध्येबाट तोक्ने प्रारम्भिक गृहकार्य भए पनि संगठन विभागमै कुरा नमिल्दा केन्द्रीय विभाग गठन झन् लम्बिने संकेत देखिएको एक नेताले बताए । पूर्वएमाले समूहको नेतृत्व रहेको जिल्लामा पूर्वमाओवादी समूह र पूर्वमाओवादी समूहको नेतृत्व रहेको जिल्लामा पूर्वएमाले समूहको इन्चार्ज रहने गरी कार्यविभाजन हुने भनिएकोमा दुई अध्यक्षको रुचि, पूर्वसमूहको शक्तिसन्तुलनलगायतलाई हेरेर प्रस्ताव आएको एक नेताले बताए ।








