काठमाडौं जेठ, २३–
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बजेटको आकार बढेको, चालू खर्च बढेको तर विकास खर्च गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । बिहिबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिर्दै सांसद खाणले बजेटलाई ‘कागजको घोडा’को संज्ञा दिएका हुन् ।
बजेटमाथिको छलफलका क्रममा खाँणले गत वर्षभन्दा यसवर्ष कागजको घोडा ठूलो भएको टिप्पणी पनि गरे ।
उनले भने, ‘कागजको घोडा जस्तो बजेट छ। न घाँस खान्छ, न दाना खान्छ, न त सवारी नै बोक्न सक्छ’ ।
नेता खाणले सरकारलाई प्रश्न गरे, विकास खर्च गर्नै नसक्ने यस्तो बजेटले समृद्धि आउँछ ?
उनले भने, ‘यसवर्ष कागजको घोडा अझै ठूलो भएछ। अझै ठूलो बनाइदिएको भए सायद पानी जहाज र रेल आउँथ्यो होला। जनतालाई पानी जहाज र रेल चढ्ने इच्छा छ। देशभित्र पानी जहाज चढ्ने इच्छा छ। तर त्यो इच्छालाई यो कागजको घोडाले पूरा गर्ने भएन ।’ उनले वृद्धभत्ता दिने उमेर ६५ वर्षमा झार्नुपर्ने पूर्ववर्ती सरकारको निर्णयको समेत बचाउ गरे।
तर, कर्मचारीको तलब वृद्धिको अनुपातमाथि प्रश्न उठाए।
‘कार्यालय सहयोगीको जति तलब प्रधानमन्त्रीको बढेको छ’ आँकडा प्रस्तुत गर्दै खाँणले भने, ‘यो समानतालाई जोड दिएको बजेट हो र ?’








