ओली सरकारले बूढीगण्डकी नबनाउने कांग्रेस नेता प्रदीप पौडेलको ठोकुवा



धादिङ जेठ, २५–
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले ओली सरकारले चिनियाँ कम्पनीलाई सुटुक्क बूढीगण्डकी जलविद्युत आयोजना सुम्पिएको आरोप लगाएका छन् । नेता पौडेलले ओली सरकारले चिनियाँ कम्पनीलाई सुम्पिएकै कारण अन्योलता उत्पन्न भएको बताएका हुन् ।

शनिबार धादिङको एक महिने जागरण अभियानलाई समापन गर्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पौडेलले प्रधानमन्त्री ओली सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण नगर्ने ठोकुवा समेत गरे ।


पेट्रोलबाट उठाइएको कर र स्वदेशी लगानीबाटै आयोजना बनाउन सक्ने अवस्था हुँदाहुँदै सुटुक्क चिनियाँ कम्पनीलाई दिनु नै रहस्य भएको उनको तर्क छ ।
नेता पौडेलले भने, ‘यो सरकारले बूढीगण्डकी आयोजना बनाउँदैन। चाइना गेजुवालाई आयोजनाबाट मुक्त गर्नुपर्छ। कमिसनखोरहरुलाई हटाउनुपर्छ।’


धादिङबेशीमा भएको कार्यक्रममा बोल्दै पौडेलले धादिङका सबै वडामा छाया सरकार बनाएको बताए। वडामा आएको बजेटमा भ्रष्टाचार भए÷नभएको छाया सरकारले हेर्ने उनले बताए।

जागरण अभियानका क्रममा धादिङमा एक सय ४ वडामा वडाभेला, १३ पालिकामा कार्यक्रम र दुई निर्वाचन क्षेत्रमा क्षेत्रीयस्तरका कार्यक्रम गरेर पार्टीमा थप उर्जा ल्याएको उनले बताए।

प्रकाशित मिति : जेष्ठ २५, २०७६ शनिबार  ४ : ०३ बजे