पाँच बर्षपछि नेपालमा गरिबी भन्ने नै हुँदैनः गृहमन्त्री थापा



चितवन जेठ, ३१– गृहमन्त्री रामबहादुर थापा बादलले पाँच वर्षमा नेपालको गरिबी शून्यमा झार्ने उद्घोष गरेका छन् । शुक्रबार पूर्वी चितवनको रत्ननगरमा आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उदघाटन गर्दै गृहमन्त्री थापाले सरकारले सोही अनुरुप काम गरिरहेको बताएका हुन् ।

उनले सरकारले अहिले रहेको १८ प्रतिशत गरिबीलाई शून्यमा झार्ने लक्ष्यसाथ काम अघि बढाइरहेको बताए । यसका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको गृहमन्त्री थापाको भनाइ छ । जसअनुसार प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको उनले जनाए ।
रत्ननगर नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा गृहमन्त्री थापाले विकास र समृद्धिका लागि दक्ष जनशक्ति आवश्यक रहेको बताए । विकास र समृद्धिका लागि दक्ष जनशक्ति र जनशक्तिका लागि प्राविधिक र व्यावसायिक शिक्षा आवश्यक रहेकोमा उनको जोड थियो । नेपाल कृषि प्रधान देश रहेको बताउँदै गृहमन्त्री थापाले कृषिलाई औद्योगिकीकरण गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘कृषिलाई औद्योगिकीकरण गरेर रोजगारीको सिर्जना गर्नुपर्छ ।’

अहिले श्रमबजारमा रहेका श्रमिकमा दक्षताको अभावका कारण उनीहरूको कमाइले घर खर्चसमेत चलाउन असहज भएको उनको भनाइ थियो । स्वदेशमा रोजगार दिने उद्योग र उद्योगीको सुरक्षाका लागि सरकार सधैँ तयार रहेको मन्त्री थापाले बताए ।

प्रकाशित मिति : जेष्ठ ३१, २०७६ शुक्रबार  १० : १२ बजे