पार्टी संरचनाबारे कांग्रेसले मुख खोल्यो, विधान अनुरुप नै बनाउने प्रष्टोक्ति



काठमाडौं – पछिल्लो समय कांग्रेस भित्र पार्टीलाई संघीय संरचनामा लैजाने विषयमा देखिएको विवादका बारेमा कांग्रेसले औपचारिक मुख खोलेको छ । बिहिबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै पार्टीले संशोधित विधान अनुरुप पार्टी संरचना बनाउने उल्लेख गरेका छन् । प्रवक्ता शर्माले आउदो असार २२ गते सुरु हुन लागेको केन्द्रीय कार्यसमितिको बैठकको पूर्व सन्ध्यामा विभिन्न सञ्चारमाध्यामबाट कतिपय अस्पष्टता सार्वजनिक भएकाले औपचारिक धारणा सार्वजनिक गरेको बताएका छन् । प्रवक्ता शर्माको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान र पार्टीको संशोधित विधान अनुरुपका पार्टी संरचनाहरु निर्माण गर्ने सम्बन्धमा बैठकले आवश्यक निर्णय लिनेछ ।’
उनले लेखेका छन्, ‘पार्टीको संशोधित विधानको अन्तिम टुंगो भए पश्चात केन्द्रीय समितिले विधानको कार्यान्वयनका लागि आवश्यक नियमावली संशोधन गर्न गठन गरेको मस्यौदा समितिले आगामी बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । बैठकले नियमावली पारित गरे पश्चात पार्टीका सबै तहको संरचना निर्माण गर्न मार्ग प्रशस्त हुनेछ ।’ पछिल्ला दिनमा कांग्रेसका विभिन्न समूहले पार्टी संस्थापनविरुद्ध विभिन्न छलफल चलाएको भनिएका बेला कांग्रेसले यस्तो धारणा सार्वजनिक गरेको हो ।
आज जारी विज्ञप्तिमा भनिएको छ, ‘जागरण अभियानको प्रथम चरणका अनेक उद्देश्य मध्ये संशोधित विधानलाई स्थानीय तहसम्म पार्टी पंक्तिमा व्यापक सुसूचित गर्ने उद्देश्य पनि एक थियो । विधान बुझाउने चरणमै विधान अनुरुपको संरचना प्राप्त हुने कार्यक्रम निर्धारित थिएन । दोस्रो चरणको जागरण अभियान पूर्व नै विधान अनुरुपको सबै संरचना निर्माण गरिने घोषणा वैशाख ३० गतेको पत्रकार सम्मेलन मार्फत भइसकेको छ ।’

त्यस्तै, विज्ञप्तिमा नेपाली कांग्रेसको विधानको धारा ७२ को ४ ले पार्टी संगठनको अन्तरिम व्यवस्था बारेमा प्रष्ट व्यवस्था गरेको भन्दै नेपालको संविधान बमोजिमका नविन संरचनाहरु पार्टीको विधानले निर्दिष्ट गरेको प्रष्ट व्यवस्था अनुरुप नै गठन हुने उल्लेख छ । प्रवक्ता शर्माले विधान भन्दा बाहिर सभापतिले तदर्थ समिति गठन गर्न चाहेको भन्ने अभिव्यक्ति र समाचारहरु विल्कुलै निराधार भएको बताएका छन् । नेपाली कांग्रेसको विधानमा पार्टीको नविन संरचनाहरु गठनका लागि तदर्थ समितिको कुनै प्रावधान नभएको विज्ञप्तिमा उल्लेख छ ।

विधानले निर्दिष्ट गरे बमोजिम देशव्यापी रुपमा पार्टी संगठनको अन्तरिम व्यवस्था गर्दै नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणमा प्रविष्ट हुने प्रवक्ता शर्माले बताएका छन् । केन्द्रीय समितिको बैठक लगतै नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संस्थाहरु बारे जरुरी निर्णय लिने समेत विज्ञप्तिमा उल्लेख छ । अन्त्यमा उनले कांग्रेसलाई समयानुकूल सबल र सुदृढ गर्दै अघि बढ्न केन्द्रीय कार्यसमितिको आगामी बैठकले पारदर्शी छलफल र बहस मार्फत आवश्यक निर्णय गर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : असार १९, २०७६ बिहिबार  २ : ५६ बजे