बाढीले जनता घर न घाट भएको बेला बैठक रोकेर उद्दारमा जुट्न कांग्रेस सांसदहरुको माग



काठमाडौं–

नेपाली कांग्रेसका सांसद हरूले बाढी पिडित जनताको उद्दारमा खटिनुपर्ने भएकाले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका छन्।

मंगलबार सिंहदरबारमा बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेसका सांसदहरू डिला संग्रौला र दिव्यमणि राजभण्डारीले बाढीपहिरो र डुबानपीडितको सहयोगका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने उल्लेख गर्दै  समितिको बैठक पनि स्थगित गर्न समितिका सभापति शशी श्रेष्ठसँग माग गरेका हुन ।  बैठकमा बोल्दै समितिकी सदस्य समेत रहेकी कांग्रेस सांसद संग्रौलाले बाढी, पहिरो र डुबानपीडितका लागि राहत दिन निर्वाचन क्षेत्रमा जानुपर्ने भन्दै एक हप्ता बैठक स्थगित गर्न माग गरिन्। प्रतिनिधिसभा बैठक स्थगित भएकाले संसदीय समितिको बैठक पनि स्थगित हुनुपर्ने उनले तर्क गरिन्।

कांग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले जनता पीडामा रहेका बेला राहत तथा उद्धारमा सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले संसदीय समितिको बैठक बोलाउन नहुनेतर्फ समितिकी सभापतिको ध्यानाकर्षण गराए। सत्तारुढ नेकपाका सांसदहरूले भने कानुन निर्माणको काममा ढिलाइ हुने दाबी गर्दै प्रतिनिधिसभा बैठक स्थगित भए पनि संसदीय समितिका बैठकहरू भने स्थगित गर्न नहुने धारणा राखेका थिए।

नेपाली कांग्रेसले यस अघीनै जारी केन्द्रिय समिती बैठकनै रोकेर आफ्ना सबै नेता कार्यकर्ताहरुलाई बाढी पिडितको सहयोग र उद्दारमा जुट्न निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार  १० : ४३ बजे